नेपालको राजनीतिमा वर्गीय मत र सोचको प्रभाव अझै पनि अत्यन्त प्रस्ट रूपमा देखिन्छ। गरिब, मध्यम र धनाढ्य वर्गका नागरिकहरू चुनावी समयमा आ(आफ्नो जीवनस्थितिअनुसार मत हाल्छन् र उनीहरूको मनोविज्ञानले नै देशको राजनीतिक दिशा तय गर्छ । वर्गीय चेतनाले निर्देशित यो मतदान व्यवहारले लोकतन्त्रको स्वरूपलाई पनि प्रभावित बनाएको छ ।
तल्लो वर्ग, जसमा मजदुर, सुकुम्बासी, दैनिक ज्यालादारी र ग्रामीण जनसंख्या पर्छ, स्वभावैले प्रलोभनमा सजिलै प्रभावित हुने वर्ग हो। सानो सुविधा, मदिरा, लत्ताकपडा वा सानो नगदले पनि उनीहरूको मत बदल्न सक्छ । यही कारण यो वर्ग राजनीतिक दलहरूको स्थायी भोट बैंकको रूपमा प्रयोग हुँदै आएको छ । चुनावी बेला नेताहरूले उनीहरूलाई भोज, राहत वा आश्वासन दिएर मत ल्याउने गर्छन्। आर्थिक असमानता र शिक्षाको अभावले गर्दा यो वर्गले विचारभन्दा पनि तत्कालको लाभलाई प्राथमिकता दिन्छ। यसरी तल्लो वर्ग सधैं शासनको खेलमा प्रयोग हुने माध्यम बनेको छ ।
मध्यम वर्ग, विशेषगरी सहरी क्षेत्रमा बसोबास गर्ने शिक्षित समुदाय, हरेक राजनीतिक परिवर्तनको केन्द्रमा रहन्छ । उनीहरू सडक आन्दोलनमा, सामाजिक सञ्जालमा र मतदानमा सक्रिय हुन्छन् र आफूलाई “परिवर्तनको शक्ति” ठान्छन् । तर यो वर्ग अस्थिर र अवसरवादी देखिन्छ । २०६४ सालको संविधानसभा निर्वाचनमा यही वर्गले सशस्त्र संघर्षबाट आएको माओवादीलाई भारी मत दिएर सत्तामा पु¥यायो । तर केही वर्षमै माओवादीको व्यवहार पुराना दलकै जस्तो बनेपछि यही वर्गले उसलाई अस्वीकार ग¥यो । अहिले यही मनोविज्ञान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा दोहोरिएको छ । पुराना दलप्रति असन्तुष्टि र नयाँपनको मोहका कारण मध्यम वर्ग फेरि नयाँ अनुहारहरूतिर आकर्षित भएको छ । तर कार्ल माक्र्सले भनेझैँ, मध्यम वर्गको चरित्र स्वार्थ र तत्कालीन फाइदामा आधारित हुने भएकाले यसको समर्थन स्थायी हुँदैन ।
मध्यम वर्ग परिवर्तनको मोह र अवसरको मनोविज्ञान
नेपाली राजनीति फेरि पनि मध्यम वर्गको आकर्षण र समर्थनको केन्द्रमा छ । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति देखिएको सहरी मतदाताको मोह २०६४ सालको माओवादी लहरकै पुनरावृत्ति झैँ देखिन्छ । पुराना भनिएका दलहरूको असफलताबाट मोहभंग भएको मध्यम वर्ग फेरि नयाँ नाम, नयाँ अनुहार र नयाँ भाष्यमा आशा खोजिरहेको छ। तर इतिहासले बारम्बार देखाएको छ ( यो वर्गको राजनीतिक समर्थन क्षणिक हुन्छ, स्वार्थअनुसार रंग फेर्छ र स्थायी वैचारिक प्रतिबद्धताभन्दा तत्कालीन लाभतिर ढल्किन्छ ।
राजनीतिक विश्लेषकहरूको भनाइमा, अहिले रास्वपा प्रति देखिएको जोश र उत्साह राजनीतिक विचारभन्दा बढी भावनात्मक प्रतिक्रियाको परिणाम हो । ‘पुराना दल असफल भए’ भन्ने जनभावनाले नयाँ पार्टीलाई सहरी वर्गको समर्थन दिलाएको हो, तर त्यो समर्थन सैद्धान्तिक धरातलमा आधारित छैन। यही कारण रास्वपाको लोकप्रियता जितजति तीव्र छ, जोखिम पनि उत्तिकै गहिरो छ ।
कार्ल माक्र्सले डेढ शताब्दी अघि नै मध्यम वर्गलाई ‘स्वभावैले अवसरवादी’ भनेका थिए। उनका अनुसार, यो वर्ग न त उत्पादनका साधनमा मालिक हुन्छ, न त त्यसको श्रममा सहभागी । त्यसैले यो वर्ग सधैँ शक्तिसँग नजिक रहँदै, परिवर्तनको नाममा आफ्नो स्वार्थ जोगाउने कोसिस गर्छ। यही माक्र्सको व्याख्या आजको नेपाली सहरी मध्यम वर्गमा हूबहू मेल खान्छ ।
२०६४ सालको माओवादीको भूमिका रास्वपाले लिएको छ । रास्वपा पुराना दलको असफलता र जनआक्रोशको उपज हो। तर राजनीतिक विचारधारा र नीति(निर्देशनमा उसको स्पष्टता देखिँदैन। संवैधानिक समाजवाद, प्रगतिशील केन्द्रजस्ता शब्दावलीहरू प्रयोग गरिए पनि तिनको कुनै व्यावहारिक अर्थ वा वैश्विक सन्दर्भ छैन। यस्तो अस्थिर वैचारिक संरचनाले पार्टीलाई लोकप्रियता त दिन सक्छ, तर दीर्घकालीन स्थायित्व दिन सक्दैन ।
हिजो माओवादीभित्र भएका जस्तै अहिले रास्वपाभित्र पनि विरोधाभास देखिन थालेका छन्। पूर्वअधिकारी, पुराना दलका असन्तुष्ट नेता, सेलिब्रिटी र सामाजिक सञ्जालका स्टारहरू एउटै छातामुनि भेला भएका छन् । पार्टीको विस्तार सिद्धान्तभन्दा बढी ‘टिकटक’ र ‘ट्रेंड’ मा निर्भर देखिन्छ । लोकप्रियतामुखी यो प्रवृत्ति विचारभन्दा व्यक्ति केन्द्रित राजनीतिलाई जन्म दिइरहेको छ ।
सुशासन र भ्रष्टाचारविरोधी एजेन्डा पनि व्यावहारिक भन्दा बढी भावनात्मक देखिन्छ । सुशासन कुनै सिद्धान्त होइन, राज्य सञ्चालनको न्यूनतम सर्त हो । जसका लागि स्पष्ट नीतिगत योजना र आर्थिक संरचनामा सुधार आवश्यक पर्छ । तर रास्वपामा त्यसबारे कुनै ठोस योजना सार्वजनिक छैन । अझ विरोधाभास त के भने, हिजो राज्य प्रणालीको दुरुपयोग गर्नेहरू नै अहिले रास्वपामा सामेल भइरहेकाले पनि आशंका जन्माएको छ ।
यस सन्दर्भमा मध्यम वर्गको दोहोरो चरित्र पनि स्पष्ट देखिन्छ । यदि यो वर्ग साँच्चै सुशासन र पारदर्शिताका पक्षमा हुन्थ्यो भने, पुराना दलका पात्रहरूलाई अस्वीकार गथ्र्यो। तर आज ती नै पात्रहरू नयाँ ब्यानरमा पवित्र ठहरिँदा मध्यम वर्ग ताली बजाइरहेको छ । यसले प्रमाणित गर्छ कि उसको चाहना सिद्धान्तभन्दा पनि तत्कालीन स्वार्थसँग गाँसिएको छ ।
अन्ततः, नेपालको मध्यम वर्गीय राजनीति हरेक दस वर्षमा नयाँ नायक र नयाँ पार्टी खोज्ने परम्परामा अड्किएको छ। इतिहास फेरि दोहोरिँदै छ ( पहिले त्रासदीका रूपमा, अहिले प्रहसनका रूपमा ।
धनाढ्य वर्ग भने सधैं सत्तासँग नजिक रहन्छ । व्यापारी, ठेकेदार, उद्योगपति र भूमिपति वर्गका लागि राजनीति कुनै विचार होइन, लगानी हो । उनीहरूले सत्ता र व्यवसायबीचको सम्बन्धबाट फाइदा लिन खोज्छन्। जस दललाई सत्तामा पुग्ने सम्भावना बढी हुन्छ, त्यहीँ उनीहरूको चन्दा र सहयोग केन्द्रित हुन्छ । १९९० को दशकमा यो वर्ग नेपाली कांग्रेससँग, २०६० को दशकमा माओवादीसँग र अहिले रास्वपासँग नजिकिएको दृष्टान्त छन् । उनीहरूको समर्थन मतमार्फत होइन, पैसामार्फत देखिन्छ । यही आर्थिक प्रभावले मिडिया, नीति र सत्ता नियन्त्रित रहन्छ ।
यी तीन वर्गको राजनीतिक व्यवहारले नेपालमा लोकतान्त्रिक अभ्यासको वास्तविक स्वरूप प्रष्ट पार्छ। तल्लो वर्गले भावना र आवश्यकताका आधारमा मत दिन्छ, मध्यम वर्ग असन्तुष्टि र परिवर्तनको चाहनामा बहकन्छ, र धनाढ्य वर्ग स्वार्थ र लगानीको आधारमा सत्तालाई प्रभावित गर्छ । यही वर्गीय त्रिकोणले हरेक निर्वाचनमा राजनीतिक नतिजा निर्धारण गर्छ। माओवादीको उदय, रास्वपाको उभार वा पुराना दलहरूको निरन्तरता ( यी सबै घटनाहरूमा वर्गीय मनोविज्ञानले निर्णायक भूमिका खेलेको छ ।
अन्ततः, जबसम्म यी तीन वर्गबीचको असमानता घट्दैन, तबसम्म नेपालमा लोकतन्त्र केवल “समान मत, असमान प्रभाव” को परिभाषाभित्र सीमित रहनेछ । गरिब वर्गले आफ्नो मतको मूल्य बुझ्न सिके, मध्यम वर्गले विचारमा स्थिरता ल्यायो, र धनाढ्य वर्गले नीति र जिम्मेवारीमा लगानी गर्न थाल्यो भने मात्र लोकतन्त्र सशक्त हुन सक्छ । अहिलेसम्मको अवस्था भने यस्तो देखिन्छ ( नेपालमा राजनीति वर्गको खेल बनेको छ, जहाँ गरिब बेचिन्छ, मध्यम वर्ग बहकिन्छ, र धनाढ्य वर्ग चलाउँछ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो