धनकुटा, मुगा । राजनीतिक रूपमा प्रभावशाली मानिने धनकुटाको मुगा विकासका सूचकमा भने पछाडि परेको भन्दै स्थानीयले गुनासो गरेका छन्। पञ्चायतकालका शक्तिशाली प्रधानमन्त्री सूर्यबहादुर थापा को जन्मथलो तथा राजनीतिक आधारभूमि रहेको मुगाबाट पछिल्ला वर्षहरूमा पनि प्रभावशाली नेताहरू निर्वाचित हुँदै आएका छन्, तर सडक, स्वास्थ्य, शिक्षा र खानेपानीजस्ता आधारभूत सुविधामा सुधार नआएको स्थानीयको आरोप छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरूको मुगामा आवतजावत बढेको छ। घरदैलो र चुनावी सभामा मुगाका समस्या प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइए पनि स्थानीयले भने आशा गर्न छाडिसकेको बताएका छन्। २०६४ सालदेखि संविधान सभा तथा प्रतिनिधि सभामा यही क्षेत्रबाट प्रतिनिधित्व हुँदै आएको छ। सुनीलबहादुर थापा र राजेन्द्र राई यही क्षेत्रबाट निर्वाचित भइसकेका छन्। राजेन्द्र राई दुई पटक प्रतिनिधि सभामा विजयी भएका छन् भने सुनीलबहादुर थापा हालै राष्ट्रिय सभामा निर्वाचित भएका छन्।
कोशी प्रदेश सभा सदस्य इन्दिरा थापा पनि मुगाकै हुन्। विभिन्न दलमा मुगाकै नेताहरूको प्रभाव रहे पनि विकासका काममा ठोस उपलब्धि नदेखिएको स्थानीय टेकबहादुर राईको गुनासो छ। स्थानीय चन्द्रमणि घिमिरेका अनुसार सूर्यबहादुर थापाको पालामा गोरेटो बाटो, मठमन्दिर र खानेपानीमा केही काम भए पनि त्यसपछि उल्लेखनीय प्रगति हुन सकेको छैन।
पाख्रीवास–मुगा–सुनबालुवा सडक तीन दशकअघि ट्र्याक खुले पनि हालसम्म कालोपत्रे हुन सकेको छैन। हिउँदमा धुलो र बर्खामा हिलोले स्थानीय हैरान छन्। बर्खामा बिरामी पर्दा एम्बुलेन्स गाउँसम्म पुग्न नसक्ने अवस्था छ। उर्वर भूमि भए पनि सिँचाइ अभावमा किसान बर्खे पानीमा निर्भर छन्। रोजगारी र सुविधाको खोजीमा बसाइँ सर्ने क्रम बढ्दो छ।
राजनीतिमा अगाडि देखिएको मुगा विकासमा भने पछाडि परेको भन्दै स्थानीयले यसपटकका उम्मेदवारबाट ठोस कामको अपेक्षा गरेका छन्।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो