‘कागजका फूल’ — हेर्दा मनमोहक, तर सुगन्धहीन। संगीतकार शिव नेपालले दिएको यो दृष्टान्त अहिलेको यथार्थ झल्काउँछ। एआईले बनाएका गीतहरू त्यही कागजका फूलझैं छन् — सुन्दर र सजीला, तर आत्मा बिहीन। पछिल्लो समय नेपाल निर्वाचनमय छ। फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य चुनावको तयारीले देशलाई नै चुनावी रंगमा रंगाइरहेको छ। घर–घरमा उम्मेदवार पुगिरहेका छन्, कोणसभा, ¥याली, नाराबाजी, अनि गीतहरू गुञ्जिरहेका छन्। तर यतिबेला बजिरहेका ती गीतहरूको स्रोत भने बदलिएको छ — अब त गीतकारको कलम होइन, कोडले लेख्छस संगीतकारको सुर होइन, एल्गोरिदमले सजाउँछ।
अघिल्ला निर्वाचनहरूमा गीतकार, गायक र संगीतकारहरूको व्यस्तता चरम हुन्थ्यो। रेकर्डिङ स्टुडियोहरूमा पालो नपाउने भीड लाग्थ्यो। तर यसपटक दमकस्थित “काव्या रेकर्ड्स” का सञ्चालक अशोक थापा भन्छन्, “यो वर्ष २–३ वटा मात्रै चुनावी गीत बने, अघिल्लो चुनावमा दर्जनौँ हुन्थे।” अब कारण स्पष्ट छ — एआईले गीत बनाउन थालेको छ। चाहिएको नाम, दल, नारासहित तुरुन्तै तयार हुने गीतका लागि न खर्च लाग्छ, न त रेकर्डिङको झन्झट। यस सहजतामा हराउँदै गएको छ सर्जकत्व र मौलिक सिर्जना।
संगीतकार कमला खनालले अघिल्ला निर्वाचनहरूमा हरेक दलका गीत बनाइन्। तर यसपटक उनी मौन छिन्। उनी भन्छिन्, “कसैले भन्या थिए बनाइदिन, तर प्रविधिले सजिलो बनाइदिँदा मानिसले सर्जक खोज्दैन।” यसरी एआईको सहजताले सिर्जकको हात खाली र स्टुडियो सुनसान बनेको छ।
एउटा दृष्टान्त छ — एउटा गाउँमा दुईजना कुम्हार थिए। पहिलोले माटोको घडा बनाउँथ्यो, दोस्रोले फलामको। फलामको घडा मजबुत थियो, पानी लामो समय टिक्थ्यो। तर गाउँलेहरू तिर्खा मेटाउन माटोको घडाकै पानी खोज्थे, किनभने त्यसमा माटोको सुवास हुन्थ्यो। एआईको गीत फलामको घडाजस्तै टिकाउ र शक्तिशाली हुन सक्छ, तर मानवीय स्पर्श र आत्माको सुवास भने केवल मानवीय सिर्जनामा हुन्छ।
गायक कुमार दवाडी भन्छन्, “एआईले रहर पूरा गरिदिन्छ, तर कृति भने बन्न सक्दैन।” उनका अनुसार प्रविधि शक्तिशाली सहायक हो, प्रतिस्थापन होइन। एआईले ताल, स्वर, लय दिन सक्छ, तर भावनाको धड्कन भने मानवीय हृदयले मात्र दिन सक्छ। कला भनेको अनुभवको प्रतिध्वनि हो, र अनुभव एआईसँग हुँदैन।
एआईले सिर्जनालाई सजिलो बनाएको छ, तर सस्तो पनि। सहजताको यो दौडमा सिर्जनशिलता मर्न थालेको छ कि भन्ने चिन्ता संगीतकर्मीहरूमा बढ्दो छ। तर समाधान असम्भव छैन। प्रविधिलाई अस्वीकार होइन, सन्तुलन चाहिन्छ — जहाँ एआई सहायक होस्, सर्जक होइन।
संगीत, कविता र कला — यी आत्माको भाषा हुन्। एआईले ती शब्द सिक्न सक्छ, तर भाषा बुझ्दैन। त्यसैले, एआईले सिर्जना गर्न सक्छ, तर सर्जक बन्न सक्दैन।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो