विश्लेषक तथा अधिवक्ता सरिता तिवारीको चेतावनी, जनयुद्ध नबुझे भविष्य कष्टकर

खगेन्द्र कार्की

इटहरी । विश्लेषक तथा अधिवक्ता सरिता तिवारीले वर्तमान राजनीतिक शक्ति र सरकारलाई जनयुद्ध (२०५२–२०७२) को ऐतिहासिक मर्म नबुझिए नेपालको भविष्य अझ कष्टकर हुन सक्ने चेतावनी दिएकी छन् । उनले २०६४ सालमा तत्कालीन नेकपा (माओवादी) ठूलो दल बनेर सरकारको नेतृत्व गरेको समयलाई स्मरण गर्दै वर्तमान राजनीतिक अवस्थाको गम्भीर समीक्षा गरेकी हुन् ।

तिवारीका अनुसार त्यतिबेला स्थापित मुख्यधारका मिडियाले माओवादीलाई “अधिनायकवादी” र “सर्वसत्तावादी” भनेर चित्रण गर्दै राजनीतिक रूपमा कमजोर बनाउने प्रयास गरेका थिए । उनले फेसबुकमा लेख्दै त्यस समयको राजनीतिक घेराबन्दी, राष्ट्रपति सम्मलाई प्रयोग गरेर प्रधानमन्त्रीलाई दबाबमा पारिएको अवस्था र सरकारलाई अस्थिर बनाउने प्रयास स्मरण गरेकी छन् ।

उनले मधेस आन्दोलन, पहिचान आन्दोलन र टीकापुर घटनालाई पनि केही मिडियाले गलत भाष्य निर्माण गरेर प्रस्तुत गरेको आरोप लगाएकी छन् । उनका अनुसार जनआन्दोलन र विद्रोहको ऐतिहासिक योगदानलाई नकार्ने प्रवृत्ति अहिले पनि सक्रिय छ ।

तिवारीले माओवादी नेतृत्वको संविधानसभा र सरकारलाई यदि अझ शक्तिशाली जनमत प्राप्त भएको भए नेपाली समाजको निर्णायक राजनीतिक द्वन्द्व त्यतिबेला नै समाधान हुन सक्ने दाबी गरेकी छन् । तर, राजनीतिक सम्झौता, गठबन्धन र शक्ति सन्तुलनका कारण क्रान्तिकारी धार कमजोर हुँदै गएको उनको विश्लेषण छ ।

उनका अनुसार एमाले, कांग्रेस र माओवादीबीचको निरन्तर राजनीतिक दाउपेचले अन्ततः माओवादीलाई पनि संसदीय प्रणालीभित्र सीमित बनायो । अहिले उदाएको नयाँ राजनीतिक शक्ति (रास्वपा र बालेन नेतृत्व) पनि जनयुद्धबाट आएको राजनीतिक चेतनासँग प्रत्यक्ष रूपमा जोडिएको उनले बताएकी छन् ।

तिवारीले नेपालको वास्तविक राजनीतिक रूपान्तरणको कालखण्ड २०५२ देखि २०७२ सम्म रहेको उल्लेख गर्दै अहिलेको सत्ता संरचनाले त्यस ऐतिहासिक यथार्थलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएकी छन् ।

समाजका संवेदनशील विषयमा लेख्दै आएकी तिवारी कवि तथा अधिवक्तासमेत हुन् । उनले सामाजिक न्याय, लैङ्गिक समानता र राजनीतिक चेतनासम्बन्धी विषयमा निरन्तर लेख्दै आएकी छन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया