आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार औपचारिक रूपमा खुल्ला भएको छ । यस अघि मतदाता भेटघाट र घरदैलोमा सिमित रहेका दल र उम्मेद्वार सोमबार बिहानै देखि नारा जुलुश घन्काउन थालेका छन् । एक हिसावले भन्ने हो भने, चुनावको माहोल थप सशक्त बनेको छ । चुनावी आचार संहिता अनुसार मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र चुनाव प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो चुनाव सम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार आजदेखि १८ गते राति १२ बजेसम्म दल तथा उम्मेदवारहरूले प्रचार–प्रसार गर्न सक्नेछन् । दल र उम्मेदवारले तोकिएको मापदण्डका आधारमा पत्रपत्रिकाका साथै ‘अनलाइन’ सञ्चारमाध्यममा पनि विज्ञापनबाट प्रचार–प्रसार गर्न सक्नेछन् ।
चुनावी प्रचार–प्रसारको औपचारिक माहोल सुरु भएसँगै देशभर राजनीतिक गतिविधि तीव्र बनेको छ । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारहरूले सभा, जुलुस, ¥याली, घरदैलो तथा कोणसभा मार्फत आफ्ना विचार, योजना र एजेन्डा मतदातासमक्ष राख्ने क्रमले तिव्रता पाएको छ । यो क्रम जति चुनावा नजिकिन्छ, त्यतिनै थप सघन बन्ने छ । लोकतन्त्रमा चुनाव केवल मत माग्ने प्रक्रिया मात्र होइन, आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने र जनविश्वास जित्ने अवसर पनि हो । तर यही समय शक्ति प्रदर्शनको प्रतिस्पर्धामा रूपान्तरण हुँदा चुनौतीहरू पनि उत्तिकै बढ्ने गर्छन् ।
सभामा भीड देखाउने, ¥यालीमा सहभागिता बढाउने र सामाजिक सञ्जालमार्फत प्रभाव विस्तार गर्ने होड चलिरहँदा कहिलेकाहीँ सुरक्षा संवेदनशीलता ओझेलमा पर्ने खतरा रहन्छ । निर्वाचन आचारसंहिता उल्लङ्घन, भड्काउ भाषण, उत्तेजक नाराबाजी वा विरोधी पक्षप्रति असहिष्णु व्यवहारले परिस्थिति तनावग्रस्त बन्न सक्छ । विशेष गरी फरक–फरक दलका कार्यकर्ता र शुभेच्छुकबीच बैमनस्यता बढेमा विवाद र झडपको जोखिम पनि बढ्छ । यस्तो अवस्था लोकतान्त्रिक अभ्यासका लागि हितकर हुँदैन ।
त्यसैले यो अवधीमा राजनीतिक दल, उम्मेद्वार, कार्यकर्ता र समर्थक सबैले थप जिम्मेवारीबोध गर्नु अत्यावश्यक छ । चुनाव शक्ति प्रदर्शनको होइन, विचार र कार्यक्रमको प्रतिस्पर्धा हुनुपर्छ। मतदातालाई डर, धम्की वा बाहुबलबाट होइन, स्पष्ट दृष्टिकोण, यथार्थपरक योजना र विश्वसनीय प्रतिबद्धताबाट प्रभावित पार्नुपर्छ। स्वस्थ प्रतिस्पर्धा, आपसी सम्मान र संयमित अभिव्यक्तिले मात्रै चुनावलाई उत्सवको रूपमा स्थापित गर्न सक्छ ।
लोकतन्त्रको सुन्दरता नै सहिष्णुता र संवादमा निहित छ । त्यसैले सबै पक्षले कानून, आचारसंहिता र सामाजिक सद्भावलाई केन्द्रमा राख्दै चुनावी गतिविधि सञ्चालन गर्नु प्रमुख आवश्यकता हो । यसले मात्र शान्तिपूर्ण, निष्पक्ष र मर्यादित निर्वाचन सुनिश्चित गर्न सक्छ । यस प्रति सवै उम्मेद्वार, राजनीतिक तथा नेता कार्यकर्ताहरु जिम्मेवार बन्न आवश्यक छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो