पृतनापति ट्रफी–२०८३ सम्पन्न, श्री नं. १८ बाहिनी अड्डा च्याम्पियन

सुप्रिया राई

इटहरी । पूर्वी पृतना मुख्यालयको आयोजनामा सञ्चालित ‘पृतनापति ट्रफी २०८३’ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको समापन समारोहमा पृतनापति उपरथी गौरव कुमार के.सी. प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

जेठ १३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पूर्वी पृतना अन्तर्गतका श्री नं. २, १८ र २१ बाहिनी अड्डाका खेलाडीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा फुटबल, बास्केटबल, भलिबल (गण तथा गुल्मस्तर), एथ्लेटिक्स, बक्सिङ, जुडो, तेक्वान्दो तथा पौडी गरी आठ विधाका खेल समावेश गरिएका थिए।

प्रतियोगितामा कुल ४६९ खेलाडी सहभागी भएका थिए, जसमध्ये १६४ जना महिला र ३०५ जना पुरुष रहेका थिए। पृतना अन्तर्गतका उत्कृष्ट खेलाडी छनोट गरी केन्द्रीयस्तरको प्रधानसेनापति ट्रफीमा सहभागिता गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

समापन समारोहअन्तर्गत राष्ट्रिय तथा सैनिक धुन प्रस्तुत गरिएको थियो भने खेलाडी परिचय र बल हस्तान्तरणपछि श्री भगवतीदल गण र श्री रणभीम गणबीच फाइनल भलिबल खेल सम्पन्न भएको थियो। फाइनलमा श्री रणभीम गण प्रथम तथा श्री भगवतीदल गण द्वितीय बनेका थिए।

विभिन्न विधाका विजेता टोली तथा खेलाडीहरूलाई मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो। गुल्मस्तरीय भलिबलतर्फ श्री शत्रुमर्दन गुल्म, फुटबलतर्फ श्री नयाँ श्रीनाथ गण, बास्केटबलतर्फ श्री रणभीम गण, एथ्लेटिक्स, बक्सिङ र तेक्वान्दोतर्फ श्री दुर्गाबक्स गण, जुडोतर्फ श्री बिरदल गण तथा पौडीतर्फ श्री अरिदमन गण प्रथम भएका थिए।

प्रतियोगितामा सहभागी १० गणमध्ये श्री दुर्गाबक्स गण उत्कृष्ट गण घोषित भएको थियो। त्यस्तै, आठ विधामध्ये चार स्वर्ण, दुई रजत र दुई कांस्य पदकसहित श्री नं. १८ बाहिनी अड्डा समग्र च्याम्पियन बनेको छ।

समापन समारोहलाई सम्बोधन गर्दै पृतनापति उपरथी गौरव कुमार के.सी.ले खेलकुदले सैनिकहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास तथा शारीरिक दक्षता अभिवृद्धि गर्ने उल्लेख गर्दै सहभागी खेलाडी तथा आयोजकलाई बधाई दिएका थिए।


सुप्रिया राई
प्रतिक्रिया