इटहरी । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फको मतपरिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ। हालसम्मको मतगणनाले देशको राजनीतिक परिदृश्यमा नयाँ शक्ति उदाएको संकेत दिएको छ। मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट अग्रस्थानमा देखिएको छ भने अन्य परम्परागत दलहरू त्यसपछि क्रमशः रहेका छन्।
प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ पनि ठूलो मतान्तर कायम गरेको छ। हालसम्म करिब १ करोड ५ लाख मत गणना हुँदा रास्वपाले ५० लाख ४१ हजारभन्दा बढी मत (झण्डै ४८ प्रतिशत) प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ७ हजारभन्दा बढी मत (करिब १६ प्रतिशत) प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा एमालेले १४ लाख २५ हजारभन्दा बढी मत (करिब १३ प्रतिशत) प्राप्त गरेको छ।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ७६ हजारभन्दा बढी मत (करिब ७ प्रतिशत) ल्याएको छ। श्रम संस्कृति पार्टीले ३ लाख ६५ हजारभन्दा बढी मत (करिब ३ प्रतिशत) प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २६ हजारभन्दा बढी मत (करिब ३ प्रतिशत) प्राप्त गरेको छ। यसपटकको निर्वाचनमा समानुपातिकतर्फ ६ वटा दलले थ्रेसहोल्ड कटाएका छन्।
प्रदेशगत रूपमा हेर्दा रास्वपाले कर्णाली बाहेक सबै प्रदेशमा अग्रता कायम गरेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा रास्वपा पहिलो स्थानमा देखिएको छ। कर्णाली प्रदेशमा भने नेपाली कांग्रेस पहिलो स्थानमा रहँदा रास्वपा दोस्रो स्थानमा रहेको छ। कांग्रेस अन्य अधिकांश प्रदेशमा दोस्रो स्थानमा रहेको छ भने एमाले सबै प्रदेशमा तेस्रो स्थानमा देखिएको छ ।
हालसम्मको मतगणनाका आधारमा प्रतिनिधिसभा समानुपातिकतर्फ दलहरूले पाउने सम्भावित सिटको अनुमान पनि गरिएको छ। निर्वाचन आयोगले मंगलबार बिहान साढे १० बजेसम्म अद्यावधिक गरेको कुल सदर मतका आधारमा सिट बाँडफाँटको प्रारम्भिक अनुमान सार्वजनिक गरेको हो ।
सो अनुमानअनुसार रास्वपाले सबैभन्दा धेरै करिब ५८ सिट प्राप्त गर्ने सम्भावना देखिएको छ। नेपाली कांग्रेसले २० सिट र नेकपा एमालेले १६ सिट पाउने अनुमान गरिएको छ। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले ९ सिट, श्रम संस्कृति पार्टीले ४ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ सिट प्राप्त गर्ने सम्भावना देखिएको छ ।
निर्वाचन आयोगका अनुसार यो गणना हालसम्म गणना भएको सदर मतलाई समानुपातिक निर्वाचन प्रणालीअनुसार सिटमा रूपान्तरण गर्दा गरिएको अनुमान मात्र हो। सम्पूर्ण मतगणना सकिएपछि मात्रै दलहरूले पाउने सिट संख्या औपचारिक रूपमा निर्धारण हुनेछ ।
प्रदेशगत मतपरिणाममा पनि रास्वपाको प्रभाव स्पष्ट देखिएको छ। कोशी प्रदेशमा रास्वपाले ८ लाख ३३ हजारभन्दा बढी मत प्राप्त गर्दा कांग्रेसले करिब २ लाख ७६ हजार मत ल्याएको छ भने एमालेले करिब २ लाख ७३ हजार मत प्राप्त गरेको छ ।
मधेश प्रदेशमा रास्वपाले १२ लाख १७ हजारभन्दा बढी मत ल्याएर स्पष्ट अग्रता बनाएको छ । कांग्रेसले करिब २ लाख ६९ हजार मत प्राप्त गर्दा एमालेले १ लाख ७८ हजारभन्दा बढी मत प्राप्त गरेको छ ।
बागमती प्रदेशमा रास्वपाले ११ लाख १९ हजारभन्दा बढी मत ल्याउँदा कांग्रेसले ३ लाख २१ हजारभन्दा बढी मत प्राप्त गरेको छ। एमालेले करिब २ लाख ६२ हजार मत ल्याएको छ भने नेपाली कम्युनिस्ट पार्टीले १ लाख ८८ हजारभन्दा बढी मत प्राप्त गरेको छ ।
गण्डकी प्रदेशमा रास्वपाले ४ लाख ९५ हजारभन्दा बढी मत ल्याएर अग्रता कायम गरेको छ। कांग्रेसले १ लाख ९५ हजारभन्दा बढी मत ल्याउँदा एमालेले १ लाख ४९ हजारभन्दा बढी मत प्राप्त गरेको छ ।
लुम्बिनी प्रदेशमा रास्वपाले ९ लाख २१ हजारभन्दा बढी मत प्राप्त गरेको छ। कांग्रेसले ३ लाख २० हजारभन्दा बढी मत ल्याउँदा एमालेले २ लाख ९२ हजारभन्दा बढी मत प्राप्त गरेको छ ।
कर्णाली प्रदेशमा भने कांग्रेस १ लाख ४१ हजारभन्दा बढी मतसहित पहिलो स्थानमा छ भने रास्वपा १ लाख ३३ हजारभन्दा बढी मतसहित दोस्रो स्थानमा रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा रास्वपाले ३ लाख १७ हजारभन्दा बढी मत ल्याएर अग्रता कायम गरेको छ। कांग्रेसले १ लाख ८२ हजारभन्दा बढी मत ल्याउँदा एमालेले १ लाख ४७ हजारभन्दा बढी मत प्राप्त गरेको छ ।
मतगणनामा साना दलहरूको मत भने निकै कम देखिएको छ। उदाहरणका लागि सिङमान तामाङ नेतृत्वको जनप्रिय लोकतान्त्रिक पार्टीले ९१७ मत प्राप्त गरेको छ भने खड्कबहादुर देवान नेतृत्वको मितेरी पार्टी नेपालले ७५५ मत पाएको छ । भद्रप्रसाद नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीले ७१३ मत प्राप्त गरेको छ भने त्रिमूल नेपालले ६७४ मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना जारी रहेको छ। अन्तिम मतपरिणाम सार्वजनिक भएपछि दलहरूले पाउने सिट संख्या औपचारिक रूपमा तय हुनेछ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो