एजेन्सी/ लेबनानमा बढ्दो सैन्य गतिविधि र हिंसात्मक घटनाका कारण पछिल्लो एक सातामै कम्तिमा ८३ बालबालिको ज्यान गएको छ । बालबालिकाको ज्यान जाने र घाइते हुने घटना तीव्र रूपमा बढेको भन्दै संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
युनिसेफका मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रीय निर्देशक एडुआर्ड बेइगबेन्डरले जारी गरेको वक्तव्यमा लेबनानमा बढ्दो द्वन्द्वका कारण बालबालिकामाथि परेको प्रभाव अत्यन्तै चिन्ताजनक भएको उल्लेख छ । उनका अनुसार मार्च २ यता लेबनानमा कम्तिमा ८३ जना बालबालिकाको मृत्यु भएको छ भने २५४ जना घाइते भएका छन् । पछिल्लो एक सातामा दैनिक औसतमा १० भन्दा बढी बालबालिकाको ज्यान गएको र करिब ३६ जना बालबालिका घाइते भएको तथ्यांकले देखाएको छ ।
युनिसेफका अनुसार पछिल्ला २८ महिनामा लेबनानमा द्वन्द्वका कारण ३२९ बालबालिकाको मृत्यु भइसकेको छ भने १ हजार ६३२ जना घाइते भएका छन् । पछिल्ला ६ दिनमै बालबालिकाको मृत्यु संख्या २५ प्रतिशतले बढेको भन्दै संस्थाले यसलाई अत्यन्तै भयावह अवस्था भनेको छ ।
युनिसेफका अनुसार द्वन्द्वका कारण लेबनानमा करिब ७ लाख मानिस विस्थापित भएका छन् । जसमा करिब २ लाख बालबालिका रहेका छन् । संस्थाले सबै पक्षलाई नागरिक तथा नागरिक संरचनाको सुरक्षा गर्न आग्रह गरेको छ । विद्यालय, आश्रयस्थल तथा अन्य नागरिक संरचनालाई सुरक्षित राख्न अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न पनि युनिसेफले आह्वान गरेको छ ।
ड्रोन आक्रमणमा १२ सयको मृत्यु
यसैबीच, हाइटीमा भएको ड्रोन आक्रमणमा ६० सर्वसाधारणसहित १ हजार २०० जनाभन्दा धेरैको ज्यान गएको अन्तर्राष्ट्रिय मानव अधिकार संस्था ‘ह्युमन राइट्स वाच’ (एचआरडब्ल्यू) ले जनाएको छ ।
हाइटीका सुरक्षा बलहरूले सशस्त्र गिरोहहरूलाई लक्षित गरी गरेको ड्रोन आक्रमणमा १७ बालबालिका र ४३ वयस्क नागरिक गरी एक हजार दुई जनाभन्दा धेरैको ज्यान गएको प्रतिवेदनलाई उद्धृत गर्दै अलजजीराले जनाएको छ ।
आक्रमणमा सात सय ३८ जना घाइते भएका छन् । नोभेम्बरदेखि जनवरीसम्म अघिल्ला तीन महिनाको तुलनामा ड्रोन आक्रमणको सङ्ख्या झन्डै दोब्बर भएको छ । गएको मार्चदेखि भेक्टस ग्लोबलको सहयोगमा हाइटीका सुरक्षा बलहरूले राजधानी पोर्ट–औ–प्रिन्सको घनाबस्ती भएका भागहरूमा विस्फोटक पदार्थले बेरिएका क्वाडकोप्टर ड्रोनहरू प्रयोग गरेर गिरोह विरोधी अभियानहरू सञ्चालन गर्दै आएका छन् । भेक्टस ग्लोबल ब्ल्याकवाटरका संस्थापक एरिक प्रिन्सको नेतृत्वमा रहेको एक निजी अमेरिकी सैन्य कम्पनी हो ।
केन्या, अमेरिका र संयुक्त राष्ट्रसङ्घको समर्थनका बावजुद सशस्त्र गिरोहहरू राजधानीभन्दा बाहिर धेरै विस्तार भएका छन् र सुरक्षा बलहरूले अझै पनि प्रमुख गिरोह नेतालाई पक्राउ गर्न सकेका छैनन् । गिरोहहरूले हजारौँको हत्या गरेका छन्, १० लाखभन्दा धेरैलाई विस्थापित गरेका छन् र अर्थतन्त्रलाई ध्वस्त पारेका छन् ।
Maeve
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो