सेतो बंगला एकेडेमीको १८ औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

दयाराम कटेल

सुनसरी। इटहरी ४ स्थित सेतो बंगला एकेडेमीले आफ्नो १८ औँ अभिभावक दिवस मनाएको छ । आईतबार विद्यालय परिसरमा एक कार्यक्रम आयोजना गरी विद्यालयले अभिभावक दिवस मनाएको हो । सोही अवसरमा वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको छ । 


विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष खड्ग कुमार विष्टको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वरिष्ट पत्रकार कृष्ण विनोद लम्साल, विद्यालयकी प्रधानाध्यापक कविता लमसाल, शिक्षा सेवी अनिल खड्का लगायतको आतिथ्यता रहेको थियो । 


कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन, कविता वाचन आदि सहित विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै इटहरी वडा नं ४ का वडा सदस्य अमृत बस्नेतले विद्यालयमा वार्षिक रुपमा आयोजना गरिने यस्ता कार्यक्रमले विद्यार्थीहरुमा लुकेर रहेका प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने वताए । 


कार्यक्रममा विद्यार्थी र अभिभावक गरी ७०० बढीको उपस्थिति रहेको थियो । कार्यक्रममा परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई मेडल सहित पुरस्कृत गरिएको थियो । 


कार्यक्रमलाई समापन गर्दै प्रधानाध्यापक लम्सालले सेतो बंगला एकेडेमी व्यापारिक उद्देश्यले नभई सेवा गर्ने अभिप्रायले स्थापन गरेको वताइन् । उनले भनिन्, “मलाई कमाउने चाहना हुन्थ्यो भने म विद्यालय सञ्चालन गरेर बस्दिनथेँ बरु अन्य केही व्यापार गर्थेँ । यो विशुद्ध सेवा भावले सञ्चालन गरेको विद्यालय हो ।” उनले अभिभावकलाई छोराछारीलाई सेतो बंगलामा पढाएको गर्व गर्न भनी लायक विद्यालय कायम राख्ने पनि प्रतिवद्धता व्यक्त गरिन् । लम्साल विद्यालयको संस्थापक प्रधानाध्यापक पनि हुन् । उनी लाइसेन्स प्राप्त अधिवत्ता पनि हुन् । 


कक्षा १ देखि १२ सम्म पठनपाठन हुने सेतो बंगला एकेडेमीमा ४०० बढी विद्यार्थी अध्ययनरत छन् ।

दयाराम कटेल
प्रतिक्रिया