विराटनगर । नेपाली कांग्रेसको संस्थापनइतर समूहले विराटनगरमा आयोजना गरेको एकता भेलामा शीर्ष नेताहरूले पार्टी नेतृत्वको कार्यशैलीमाथि कडा असन्तुष्टि व्यक्त गर्दै कांग्रेस गम्भीर आन्तरिक संकटमा पुगेको बताएका छन् । नेताहरूले पार्टीभित्र बढ्दो असहमति, संवादहीनता र निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कांग्रेस व्यवहारिक रूपमा फुटिसकेको टिप्पणी गर्दै सर्वोच्च अदालत र निर्वाचन आयोगका निर्णयहरूले पार्टीलाई विभाजनको अवस्थामा पु¥याएको आरोप लगाए । उनले अहिलेको सबैभन्दा ठूलो आवश्यकता पार्टी एकता भएको बताउँदै कांग्रेस बलियो नभएसम्म देशको विकास र लोकतन्त्रको सुदृढीकरण सम्भव नहुने धारणा राखे । पुराना र अनुभवी नेताहरूलाई पाखा लगाएर पार्टी सञ्चालन गर्न नसकिने भन्दै उनले वर्तमान नेतृत्वलाई सबै पक्षलाई समेट्न आग्रह गरे ।
नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र निरंकुशताको सुरुवात भएको आरोप लगाए । लोकतन्त्र स्थापना र निरंकुशताको अन्त्यका लागि जन्मिएको पार्टीमै वडाध्यक्षहरूलाई मौखिक रूपमा हटाउने प्रवृत्ति बढेको भन्दै उनले त्यसलाई लोकतान्त्रिक मूल्यविपरीत भएको बताए । कांग्रेसभित्र सहमति, सहकार्य र एकताको वातावरण निर्माण नगरे पार्टी कमजोर हुने र त्यसको प्रत्यक्ष असर लोकतन्त्र तथा राष्टिूय सार्वभौमिकतामा पर्ने चेतावनी दिए ।
पूर्वउपसभापति विजयकुमार गच्छदारले सभापति गगन थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेतृत्वमा अहंकारभन्दा संवाद र समन्वय आवश्यक रहेको बताए । विशेष महाधिवेशन र अदालती प्रक्रियाबाट सभापति बने पनि अग्रज नेताहरूको अनुभवबाट सिक्नुपर्ने उनको सुझाव थियो । पार्टीभित्र स्थापित नेताहरूलाई किनारा लगाउने प्रयास भइरहेको
भन्दै उनले कांग्रेस जोगाउन सबै पक्षबीच सम्मानपूर्ण सम्बन्ध आवश्यक रहेको उल्लेख गरे । उनले नेता तथा कार्यकर्तालाई नडराई लोकतान्त्रिक मूल्यको पक्षमा उभिन पनि आग्रह गरे ।
त्यस्तै नेता कृष्णप्रसाद सिटौलाले देशमा डर र तर्साउने राजनीतिक संस्कृतिले जरा गाड्दै गएको टिप्पणी गरे । कांग्रेसले यस्तो प्रवृत्तिको अन्त्य गर्दै लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र जनविश्वासको रक्षा गर्नुपर्ने उनको भनाइ थियो । पार्टीभित्रको विवाद समाधान गर्न नेतृत्वले साहसिक निर्णय लिनुपर्ने बताउँदै उनले अनावश्यक ढिलाइ र अन्योल अन्त्य गर्न आग्रह गरे ।
भेलामा सहभागी अधिकांश नेताहरूले कांग्रेसभित्र देखिएको आन्तरिक विवाद चाँडै समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन नसके लोकतन्त्र र कांग्रेस दुवै कमजोर हुने चेतावनी दिएका छन् । संस्थापनइतर समूहको यो भेलाले कांग्रेसभित्रको असन्तुष्टि थप सतहमा ल्याएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो