सातवटै प्रदेश सरकारले आज आ.ब. २०८३÷८४ को बजेट ल्याउने

फाष्ट मिडिया नेपाल संवाददाता

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४का लागि बजेट सार्वजनिक गर्दैछन्। 

असार एक गते बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक बाध्यता अनुसार बजेट ल्याउन लागेका हुन् । प्रदेशहरूले केन्द्र सरकार जस्तै सुशासन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार जस्ता विषयलाई प्राथमिकता दिएर नयाँ बजेट तयार पारेका छन्। 

संघीय सरकारले १५ जेठमा बजेट सार्वजनिक गरेसँगै त्यसमा आधारित भई प्रदेश सरकारहरूले आफ्नो बजेट तयारी गर्छन्।  कोशी प्रदेशले चालु आर्थिक वर्षको तुलनामा पाँच अर्व बढाएर ४० अर्व हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। प्रदेशसभाको बैठक दिउँसो ४ बजे बोलाइएको छ। मधेश प्रदेश सरकारको बजेट आज दिउँसो एक बजे आउँदैछ। अर्थमन्त्री युवराज भट्टराईले ६ अर्ब रुपैयाँ घटाएर ४२ अर्बको बजेट ल्याउँदै हुनुहुन्छ। 

बागमती प्रदेश सरकारले ६६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। गण्डकीमा आत्मनिर्भरतालाइ प्राथमिकता दिएर ३३ अर्ब हाराहारीको बजेट आउँदैछ। कृषि उत्पादनमा वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, सुशासन तथा सामाजिक न्यायमा केन्द्रित गर्दै लुम्बिनी प्रदेश सरकारले पाँच अर्ब घटाए झन्डै ३८ अर्ब रुपैयाँको बजेट ल्याउँदैछ। 

विकास निर्माणका लागि पुँजिगत खर्चलाई प्राथमिकता दिँदै कर्णाली प्रदेश सरकारले ३६ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ। चालु वर्षमा ३१ अर्व बजेट ल्याएको सुदूरपीश्चम सरकारले पनि आकार बढाएर बजेट ल्याउँदैछ। 

यद्यपि सदाका वर्षझैं लफडा रहेको त्यहाँ हिजो दिउँसोसम्म सत्तारुढ दलहरु छलफलमै थिए। गतवर्ष समयमै बजेट नआउँदा प्रदेश बेखर्ची बनेको थियो।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया