कोशी प्रदेशका बाढीका कारण सम्पर्कविहिन ३० जना सकुशल सम्पर्कमा, १२ को जिवितै उद्दार

खगेन्द्र कार्की

विराटनगर । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण सम्पर्कविहीन भएका ३० जना व्यक्तिहरू सकुशल सम्पर्कमा आएका छन् भने बाढीमा फसेका अन्य १२ जनाको जीवितै उद्धार गरिएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार बाढीका कारण अझै १६० जना भने अझै सम्पर्कविहीन रहेका छन् ।
प्रहरीका अनुसार, बाढीको उच्च जोखिममा रहेका १२ जनालाई विभिन्न स्थानबाट सुरक्षित रूपमा उद्धार गरिएको छ।
उद्धार गरिएकाहरूमा झापाका १ जना र ओखलढुङ्गा जिल्लाका ११ जना रहेका छन्। उनीहरूमध्ये अधिकांश नुवाकोटस्थित अपर त्रिशूली थ्री ए हाइड्रो प्रोजेक्ट र रसुवाका विभिन्न क्षेत्रमा कार्यरत मजदुरहरू रहेका छन्। 
उद्धार गरिएका व्यक्तिहरूमा देवलाल मुर्मु सतार, गणेश बहादुर पहरी, संजिव तामाङ, प्रकाश राई, सार्की शेर्पा लगायत रहेका छन्। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बाढीपछि केही समयदेखि सम्पर्कविहीन रहेका विभिन्न जिल्लाका ३० जना व्यक्तिहरू अन्ततः परिवार र प्रहरीको सम्पर्कमा आएका छन्। 
सम्पर्कमा आउनेहरूमा ओखलढुङ्गाका १० जना, उदयपुरका ५ जना, सुनसरीका ५ जना, ताप्लेजुङका ३ जना, सोलुखुम्बुका ३ जना, खोटाङका २ जना र इलामका १ जना रहेका छन् ।
सम्पर्कमा आएका यी व्यक्तिहरू रसुवाका विभिन्न हाइड्रोपावरमा मजदुरका रूपमा कार्यरत रहेको, कोही सवारी चालक रहेको र कोही गोसाईंकुण्ड तीर्थयात्राका लागि गएको खुलेको छ। 
उनीहरू रसुवाको टिमुरे, धुन्चे र गोसाईंकुण्ड क्षेत्रका विभिन्न होटल तथा कार्यस्थलमा सुरक्षित रहेको पुष्टि भएको छ। प्रहरी कार्यालयका अनुसार अहिलेसम्म कोशी प्रदेशका १ जनाको मृत्यु भएको छ।
विपद् लगत्तै कोशी प्रदेश प्रहरी कार्यालयले प्रभावित क्षेत्रका नागरिकहरूको विवरण सङ्कलनलाई तीव्रता दिएको थियो। सम्पर्कविहीन भएकाहरूका परिवारलाई जानकारी गराउने र उनीहरूको अवस्था बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया