भोटेकोशी बाढीमा परी १० दिनदेखि दुई दाजुभाई नै बेपत्ता

खगेन्द्र कार्की


विराटचोक (मोरङ) । रसुवामा आएको विनाशकारी बाढीमा परी अपर त्रिशूली–२ जलविद्युत् आयोजनामा कार्यरत दुई जना कर्मचारी तथा प्राविधिक १० दिनदेखि सम्पर्कविहीन भएका छन् ।

अपर त्रिशूली–२ जलविद्युत् आयोजनामा विभिन्न कम्पनीअन्तर्गत कार्यरत झापाको शिवसताक्षी–१० का कुलबहादुर कार्की र मोरङको सुन्दरहरैँचा–१२, विराटचोक काफ्लेटोलका सुर्जबहादुर कार्की दाजुभाई बाढीपछि सम्पर्कविहीन भएका हुन् । सुरुंगा झापा निवासी कूलबहादुरको एक छोरी र श्रीमतिका अभिभावक हुन भने मोरङ निवासी सुर्जबहादुरको श्रीमति र एक छोरा, एक छोरी अभिभावक हुन ।

उनीहरू रसुवामा आएको भीषण बाढीका क्रममा बेपत्ता भएको जनाउँदै परिवार तथा सम्बन्धित पक्षले तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय, आयोजनाको कम्पनी व्यवस्थापन र सुरक्षा निकायसँग आग्रह गरेका छन् ।

बाढी आएको १० दिन बितिसक्दा पनि उनीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकेको बताइएको छ । बाढीले जलविद्युत् आयोजनाका सुरुङ, पावरहाउस तथा अन्य संरचनामा क्षति पु¥याएपछि त्यहाँ कार्यरत धेरै कर्मचारी तथा प्राविधिक प्रभावित भएका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले यसअघि नै भोटेकोशी बाढीपछि भूमिगत संरचनामा फसेका कामदार तथा प्राविधिकको उद्धारमा सरकारको तयारी कमजोर देखिएको बताएका थिए। उनका अनुसार यस्ता जटिल उद्धारका लागि अत्याधुनिक उपकरण, दक्ष जनशक्ति तथा तत्काल अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्नुपर्ने अवस्था देखिएको छ।

बाढीका कारण सडक तथा सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले प्रभावित जलविद्युत् आयोजनासम्म उद्धार टोली र आवश्यक उपकरण पु¥याउन कठिनाइ भएको छ। तर लामो समयसम्म सम्पर्कविहीन रहेका व्यक्तिको खोजीमा थप प्रभावकारी र समन्वित प्रयास आवश्यक रहेको परिवार तथा सहकर्मीहरूले बताएका छन्।

बेपत्ता कुलबहादुर र सुर्जबहादुरको खोजी तथा उद्धारका लागि आयोजनासँग सम्बन्धित कम्पनी, जिल्ला प्रशासन, सुरक्षा निकाय र सरकारका सम्बन्धित निकायलाई तत्काल सक्रिय हुन आग्रह गरिएको छ।

खोजी तथा उद्धारका लागि सम्पर्कः

अशोक थापा, वित्त व्यवस्थापक — ९८४९०४१७७२

सम्बन्धित कम्पनी प्रतिनिधि — ९८०३३८६६१७

खगेन्द्र कार्की
प्रतिक्रिया