मोरङ–सुनसरीका १५\१५ सहित कोशीका अझै १४५ बेपत्ता

खगेन्द्र कार्की

इटहरी । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मोरङ र सुनसरीका १५/१५ जनासहित कोशी प्रदेशका १ सय ४५ जना अझै सम्पर्कविहीन रहेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयले दिएको विवरण अनुसार कुल १ सय ६७ जनामध्ये २१ जना मात्र सम्पर्कमा आएका छन् । सम्पर्कमा आएकामध्ये २ जनाको उद्धार गरिएको छ भने १ जना घाइते अवस्थामा भेटिएका छन् । बाढीका कारण इलाम घर भएका एक जनाको मृत्यु भएको पुष्टि भएको छ । बाढीबाट सबैभन्दा बढी सोलुखुम्बुका नागरिकहरू प्रभावित भएका छन् । सोलुका कुल ४२ जनामध्ये ३९ जना अझै सम्पर्कविहीन छन् । यस्तै, उदयपुरका १६, मोरङका १६ र सुनसरीका १६ जना अझै सम्पर्कमा आउन बाँकी छन् ।

यस्तै झापाका १०, इलामको ९, खोटाङको १०, ओखलढुंगाका १९, ताप्लेजुङका २ जना सम्पर्कविहीन छन् । यस्तै पाँचथर र संखुवासभाका क्रमशः १ र ३ जना अझै सम्पर्कविहीन हुँदा भोजपुर र धनकुटाका क्रमशः ३ र २ जना सम्पर्कविहीन छन् । तथ्याङ्क अनुसार तेह्रथुमका भने कोही पनि बेपत्ता भएको देखिएको छैन । हाल सम्पर्कमा नआएका १४५ जनाको खोजी कार्य जारी रहेको र सुरक्षा निकाय तथा स्थानीय प्रशासनले उद्धार र खोजीलाई तीव्रता दिएको बताइएको छ ।


सुनसरीमा अझै १५ बेपत्ता, ४ जना सम्पर्कमा

भोटेकोशीमा आएको बाढीपछि रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा विभिन्न कामका सिलसिलामा रहेका सुनसरीका १५ जना सम्पर्कविहीन भएका छन् ।

विभिन्न स्रोतबाट प्राप्त जानकारी तथा तथ्यांक अनुसार उनीहरू हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानाएको छ ।

प्रशासनका अनुसार हालसम्म सम्पर्कविहीन हुनेमा इनरुवा नगरपालिका–५ का पुष्पराज भट्टराई, रामधुनी नगरपालिका–३ का दिनेशकुमार चौधरी, बराहक्षेत्र नगरपालिका–७ का भुवनबहादुर श्रेष्ठ, सोही वडाकी रविनाकुमारी धामी, इटहरी उपमहानगरपालिका–२० का अमरबहादुर खड्का, मनमाया खड्का र बराहक्षेत्र नगरपालिका–४ का मोहन माझी रहनुभएको छ ।

त्यसैगरी दुहबी नगरपालिका–४ का सचिन गौतम, धरानका मुकेश नेपाल, रामधुनी नगरपालिका–३ का धिरज साह, भोक्राहा नरसिंह गाउँपालिका–३ का श्यामनारायण साह, कोशी गाउँपालिका–८ की मीना बजगाईँ, बराहक्षेत्र नगरपालिका–११, मधुवनका छविकेशर काफ्ले, मणिकरण राई तथा इटहरी उपमहानगरपालिका–१९ का प्रभाकर दङ्गाल (नेपाली सेना, लेस नायक) पनि सम्पर्कविहीन हुनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार रसुवामा रहेका चार जना भने परिवारको सम्पर्कमा आउनुभएको छ ।

परिवारको सम्पर्कमा आउनेमा रामधुनी नगरपालिका–५ का नवराज ढकाल, देवानगञ्ज गाउँपालिका–७ का देवनन्दन यादव, रामधुनी नगरपालिका–८ का जीवन सिंह र रामधुनी नगरपालिका–५ का सञ्जित नारायण रहनुभएको छ । 

रसुवा तथा आसपासका क्षेत्रमा बाढीपछि ठुलो जनधनको क्षति भएको र विभिन्न स्थानमा सञ्चार तथा आवतजावतमा समस्या रहेकाले सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ ।

मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार

मोरङ÷ रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीपछि मोरङका १५ जना अझै सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार विभिन्न कामका सिलसिलामा रसुवा, धादिङ र नुवाकोट पुगेका १५ जना हालसम्म सम्पर्कविहीन रहेकाले निरन्तर खोजी भइरहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी युवराज कटेलले तीन जनालाई उद्घार गरी विभिन्न अस्पतालमा उपचार जारी रहेको जानकारी दिए । उनका अनुसार हालसम्म सम्पर्क हुन नसकेकामा विराटनगर महानगरपालिका–७ का शिवशङ्कर गुप्ता र सोमप्रसाद कटेल, बेलबारी नगरपालिका–११ का अनुज धमला, सुन्दरहरैचा नगरपालिकाकी पुजा आचार्यसहित तीन वर्षीया छोरी, सूर्यबहादुर कार्की र भोजराज अधिकारी, लेटाङ नगरपालिकाका मेघा चेम्जोङ, शोना चेम्जोङ, देवीमाया तामाङ, पासाङ तामाङ, रंगेली नगरपालिका–६ का सुरज मण्डल, पथरी सनिश्चरे नगरपालिका–७ की रिचा निरौला, विराटनगर एयरपोर्ट मोडका सचिन गौतम र विराटनगर–१ का दुर्गाप्रसाद पोखरेल छन् ।

खगेन्द्र कार्की
प्रतिक्रिया