भोटेकोशी बाढीमा उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार ः हजारौँ अझै सम्पर्कविहीन

खगेन्द्र कार्की

इटहरी  । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको जनाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ भने ३ हजार ९२५ जना अझै सम्पर्कविहीन छन् ।
बाढी आएको छैटौँ दिनसम्म पनि सरकार खोज, उद्धार, उपचार, राहत तथा नागरिकको सुरक्षित व्यवस्थापनमा केन्द्रित रहेको प्रधानमन्त्री शाहले बताएका छन् । उनले प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, विभिन्न निकायका पदाधिकारी, स्वयंसेवी संस्था तथा सर्वसाधारणको योगदानको प्रशंसा गरेका छन् ।
बाढीबाट उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २७९ घाइतेमध्ये १६८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । बाँकी घाइतेको उपचार जारी रहेको सरकारले जनाएको छ ।
३ हजार ६९६ परिवारलाई राहत तथा आश्रय
सरकारले रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका चारवटा संकलन केन्द्रमार्फत राहत सामग्री संकलन गरी रसुवा र नुवाकोटका २७ वटा वितरण केन्द्रबाट प्रभावित नागरिकसम्म पु¥याइरहेको जनाएको छ ।
प्रधानमन्त्री शाहका अनुसार हालसम्म ३ हजार ६९६ प्रभावित नागरिकलाई राहत तथा आश्रय उपलब्ध गराइएको छ । संघीय सरकारसँगको समन्वयमा प्रदेश तथा स्थानीय सरकार पनि राहत तथा आश्रय व्यवस्थापनमा सक्रिय रहेको उनले बताएका छन् ।
बाढी प्रभावित क्षेत्रमा भारत, चीन, अमेरिका, संयुक्त अरब इमिरेट्स, कतार, जापान, स्वीट्जरल्याण्ड र अष्ट्रेलियालगायत मित्रराष्ट्रबाट समेत सहयोग प्राप्त भइरहेको सरकारले जनाएको छ ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अर्को अद्यावधिक विवरणमा बाढीका कारण ९०३ जनाको शव फेला परेको उल्लेख छ । ती शव चितवन, नवलपरासी पूर्व तथा पश्चिम, नुवाकोट, गोरखा, धादिङ, तनहुँ र रसुवालगायत जिल्लामा फेला परेको जनाइएको छ ।
प्राधिकरणका अनुसार बाढीमा अझै ४ हजार २४७ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीनमध्ये रसुवाका ८६५, नुवाकोटका १ हजार ५५८, जलविद्युत् आयोजनामा कार्यरत ९३३ तथा ५९२ जना विदेशी नागरिक रहेका छन् । सुरक्षा निकायका कर्मचारी तथा भन्सार र अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीनको सूचीमा रहेको प्राधिकरणले जनाएको छ ।
बाढीका कारण बेपत्ता भएका तथा क्षतिग्रस्त क्षेत्रमा खोजी, उद्धार र राहत कार्य जारी रहेको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया