रास्वपा लड्यो भने आफ्नै घुँडामा अल्झेर लड्छ : रवि लामिछाने

खगेन्द्र कार्की

इटहरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा कमजोर हुने अवस्था आए त्यो बाह्य शक्तिका कारण नभई आफ्नै कमजोरीका कारण मात्रै हुने बताए । पार्टीभित्र गुट–उपगुटको राजनीति मौलाए रास्वपाले क्षति व्यहोर्नुपर्ने भन्दै उनले एकताबद्ध भएर अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे ।

चितवनको भरतपुरमा आइतबार आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले प्रतिशोधको राजनीति नगर्ने र जनताले दिएको विश्वासलाई केन्द्रमा राखेर अघि बढ्ने बताए। उनले राजनीतिक दलहरूबीचको द्वन्द्व र वैमनस्यता अन्त्य गर्दै सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

“रास्वपा लड्यो भने आफ्नै घुँडामा अल्झेर लड्छ, रास्वपालाई लडाउने अरू कसैको तागत छैन,” उनले भने, “गुट र उपगुटले दिने फल विषालु हुन्छ। त्यस्तो फल फल्यो भने वृक्ष नै काट्नुपर्ने अवस्था आउँछ। हामी अहिले कस्तो बीउ रोप्ने भन्ने मोडमा छौँ।”

महाधिवेशनबाट पार्टीभित्र एकताको सन्देश जाने विश्वास व्यक्त गर्दै उनले विगतका राजनीतिक दलहरूले भोगेका गुटबन्दीका अनुभवबाट पाठ सिक्नुपर्ने बताए । गुटरहित र संगठनात्मक रूपमा बलियो पार्टी निर्माण गर्न सके रास्वपालाई कसैले कमजोर बनाउन नसक्ने उनको भनाइ थियो।

लामिछानेले रास्वपा देशको साझा राजनीतिक मञ्चका रूपमा स्थापित हुँदै गएको दाबी गर्दै पछिल्लो समय राजनीति बाहिरका क्षेत्रका व्यक्तिहरू पनि परिवर्तनको आशासहित राजनीतितर्फ आकर्षित भएको बताए । उनले जनताले दिएको मतलाई जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै कसैप्रति प्रतिशोध नराखी काम गर्ने प्रतिबद्धता जनाए ।

उनले प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका समस्याहरू समयमै समाधान हुनुपर्ने धारणा पनि राखे । राष्ट्रिय राजनीति सुदृढ हुन रास्वपा मात्र राम्रो भएर नपुग्ने भन्दै अन्य दलहरू पनि सुधारिनुपर्ने उनको भनाई छ ।

“हामीले इतिहासलाई जवाफ दिनुपर्नेछ। राष्ट्रिय राजनीति राम्रो हुन हाम्रो पार्टी मात्रै राम्रो भएर पुग्दैन, अरू दल पनि सुध्रिनुपर्छ,” उनले भने, “कांग्रेस र एमालेभित्र देखिएका अप्ठ्यारा समाधान भएनन् भने त्यसको असर देशले नै भोग्नुपर्छ।”

लामिछानेले देश रास्वपाको हातमा रहेको र सुरक्षित रहेको बताएका छन् ।  उनले भने ‘देश रास्वपाको हातमा छ, देश सुरक्षित छ’, सभापति लामिछानेले भने,‘बदलिएको परिस्थितिले हामीलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ ।’ 

सरकार सञ्चालनका विषयमा बोल्दै लामिछानेले पूर्वसहमति अनुसार प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार अघि बढिरहेको बताए। सरकार सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री शाहकै रहेको उल्लेख गर्दै उनले पार्टीका तर्फबाट पूर्ण सहयोग रहने स्पष्ट पारे ।

खगेन्द्र कार्की
प्रतिक्रिया