झापामा तीन दिनमै ९२ जना पक्राउ, ८४५ युवा पुनःस्थापना केन्द्रमा उपचाररत

खगेन्द्र कार्की

 झापा । झापामा लागूऔषध सेवन र अवैध कारोबारको समस्या गम्भीर बन्दै गएको संकेत देखिएको छ । जिल्ला प्रहरी कार्यालय झापाले तीन दिनअघि सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’का क्रममा जिल्लाका विभिन्न स्थानबाट ९२ जनालाई नियन्त्रणमा लिएको छ भने जिल्लाभर सञ्चालित २७ वटा पुनःस्थापना केन्द्रमा हाल ८४५ जना युवा उपचाररत रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये ८३ जना लागूऔषध सेवनकर्ता र नौ जना अवैध कारोबारमा संलग्न व्यक्ति छन् । कारबाहीका क्रममा ३८ ग्राम ९१० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ तथा तीन ग्राम ९०० मिलिग्राम गाँजा बरामद गरिएको छ ।
झापाका दमक, बिर्तामोड, भद्रपुर, मेचीनगर र शिवसताक्षी क्षेत्र पछिल्लो समय लागूऔषधको उच्च जोखिमयुक्त केन्द्रका रूपमा देखिएका छन् । विशेषगरी सीमावर्ती नाकाबाट भारततर्फबाट भित्रिने ब्राउन सुगर, ट्रामाडोल र स्पास्मो–प्रोक्सिभोनजस्ता पदार्थको अवैध ओसारपसारले समस्या जटिल बन्दै गएको प्रहरीको निष्कर्ष छ ।
भारतसँग जोडिएको १४४ किलोमिटर खुला सीमाना लागूऔषध नियन्त्रणमा सबैभन्दा ठूलो चुनौती बनेको छ । प्रहरी अनुसन्धानअनुसार भारतमा तुलनात्मक रूपमा सस्तो मूल्यमा पाइने लागूऔषध नेपाल ल्याएर उच्च मूल्यमा बिक्री गर्ने प्रवृत्ति बढ्दो छ । यसले सीमावर्ती क्षेत्रलाई तस्करहरूको सहज मार्ग बनाएको सुरक्षा निकायको भनाइ छ ।
‘लागूऔषधको देशभरिकै ट्रान्जिट पोइन्ट बनेको झापाका कुनै पनि पालिका यो समस्याबाट अछुतो छैनन्,’ प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भने । उनका अनुसार मेचीनगर, भद्रपुर, बिर्तामोड र दमक लागूऔषधबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हुन् ।
लागूऔषध नियन्त्रणका लागि प्रहरीले बहुआयामिक अभियान सञ्चालन गर्ने जनाएको छ । महानिरीक्षक कार्कीका अनुसार विद्यालय केन्द्रित पोस्टरिङ अभियान, ‘टीच द टिचर्स’ कार्यक्रममार्फत १५० शिक्षकलाई तालिम, युवा लक्षित पाँचवटा मैत्रीपूर्ण फुटबल प्रतियोगिता तथा राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक समाजसँग सहकार्य गरी घरदैलो सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
जिल्ला प्रहरी कार्यालयको अभिलेखले लागूऔषध सेवनकर्ता र कारोबारी दुवैको संख्या वर्षेनी बढिरहेको देखाएको छ । काँकरभिट्टा, चन्द्रगढी, बिर्तामोड र दमकजस्ता मुख्य सहरी क्षेत्रमा यसको प्रभाव बढी रहेको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले पछिल्ला घटनाक्रमले दमक लागूऔषध प्रयोगको संवेदनशील केन्द्र बन्दै गएको संकेत गरेको बताए । उनले नियन्त्रणका लागि सुरक्षा निकायको प्रयास मात्र पर्याप्त नहुने भन्दै परिवार, समुदाय र स्थानीय तहको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे ।
समस्याको अर्को पाटो पुनःस्थापना सेवामा देखिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार जिल्लाका २७ पुनःस्थापना केन्द्रमा ८४५ जना युवा उपचाररत छन् । उपचाररत अधिकांश व्यक्ति १६ देखि ४० वर्ष उमेर समूहका छन् ।
सरोकारवालाहरूले विद्यालय, कलेज, सार्वजनिक स्थल तथा बजार क्षेत्रमा सुर्तीजन्य पदार्थ र मदिराको सहज उपलब्धताले किशोर तथा युवालाई जोखिमतर्फ धकेलिरहेको बताएका छन् । कानुनी व्यवस्था भए पनि सार्वजनिक स्थल आसपास यस्ता वस्तुको बिक्री–वितरण प्रभावकारी रूपमा नियन्त्रण हुन नसकेको गुनासो स्थानीयको छ ।
विज्ञहरूका अनुसार लागूऔषध दुरुपयोगले स्वास्थ्यमा मात्र नभई सामाजिक संरचना र सार्वजनिक सुरक्षामा पनि प्रत्यक्ष असर पारिरहेको छ । चोरी, लुटपाट, हिंसा तथा अन्य आपराधिक गतिविधिसँग यसको सम्बन्ध देखिन थालेपछि सुरक्षा चुनौतीसमेत बढेको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय झापाले ‘लागूऔषधविरुद्ध झापा अभियान’ सञ्चालन गर्दै विद्यालय, स्थानीय तह, अभिभावक समूह, युवा क्लब र नागरिक समाजसँग सहकार्यमा सचेतना तथा रोकथामका कार्यक्रम अघि बढाएको छ । तर खुला सीमा, बढ्दो माग, बेरोजगारी, कमजोर पारिवारिक निगरानी र सामाजिक उदासीनताका कारण समस्या नियन्त्रण अझै चुनौतीपूर्ण रहेको सरोकारवालाहरूको भनाइ छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया