बाढीले आमा खोसेपछि कुशको प्रतिमालाई अन्तिम संस्कार गर्दै अबोध बालक
फाष्ट मिडिया नेपाल संवाददाता
२१ भदौ २०८३, अाईतबार ०६:३७ मा प्रकाशित
2322
इटहरी । कोभिड–१९ महामारीमा ६ महिनाको उमेरमै बुवा गुमाएका दुई अबोध बालकले रसुवाको प्रलयकारी बाढीमा आमा पनि गुमाएपछि कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गरेका छन् । आफन्त फर्किएर आउने आशा हराउँदै गएपछि शोकाकुल परिवार मृत्यु संस्कारको कठोर जिम्मेवारी पूरा गर्न बाध्य भएको हो ।
बागचौर नगरपालिका–८ की प्रमिला बुढाथोकी बस्नेत रसुवाको बाढीमा बेपत्ता भएपछि उनका नाबालक छोराहरूले आफ्नै आमाको कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गरेका हुन् । बाल्यकालमै बाबु गुमाएका उनीहरूले आमाको समेत साथ गुमाएपछि अहिले आफन्तको सहारामा छन् ।
प्रमिलाका श्रीमान् गोविन्द बस्नेतको कोभिड महामारीका क्रममा ३५ वर्षको उमेरमा मृत्यु भएको थियो । त्यतिबेला प्रमिलाका छोरामध्ये एक जना ६ महिनाका मात्रै थिए । बाबुको अनुहार र साथको स्मृति राम्ररी बस्न नपाउँदै आमासमेत प्राकृतिक विपत्तिको शिकार भएपछि बालकहरूको जीवन झन् पीडादायी बनेको छ ।
प्रमिलासँगै सल्यान शारदा नगरपालिका–१३ जन्मघर भएका उनका परिवारका रिमबहादुर बुढाथोकी, रिता बुढाथोकी, लक्ष्मी बुढाथोकी र प्रवीण बुढाथोकीसमेत रसुवाको बाढीमा परेका छन् । लक्ष्मीको विवाह दाङमा भएको जनाइएको छ ।
आफन्तको अवस्थाबारे यकिन हुन नसक्ने र फर्किएर आउने सम्भावना कमजोर हुँदै गएपछि परिवारजनले मृत्यु संस्कार अघि बढाएका हुन् । बाढीले परिवारका सदस्य मात्र खोसेको छैन, आश्रित बालबालिकाको भविष्यसमेत अनिश्चित बनाएको छ ।
यस्ता विपत्तिमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण तत्काल राज्यको प्राथमिकतामा पर्नुपर्ने देखिन्छ । उनीहरूको शिक्षा, स्वास्थ्य, आवास, पालनपोषण र भविष्य सुनिश्चित गर्ने दीर्घकालीन व्यवस्था आवश्यक छ । राहत वितरणमा मात्र सीमित नभई अभिभावकविहीन बालबालिकाको पहिचान गरी तीनै तहका सरकारले स्पष्ट जिम्मेवारीसहित संरक्षणको दायित्व लिनुपर्ने अवस्था छ ।
बाढीबाट प्रभावित परिवारको पुनःस्थापना, बेपत्ताको खोजी तथा बालबालिकाको संरक्षणका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ । प्राकृतिक विपत्तिले खोसेको अभिभावकको स्थान त कसैले पूर्ति गर्न सक्दैन, तर राज्यको जिम्मेवार हस्तक्षेपले यस्ता बालबालिकाको भविष्य भने अन्धकार हुनबाट जोगाउन सक्छ ।