मोरङ कारागारमा कैदीबन्दीबीच कुटाकुट, १९ जना अन्यत्र सारिए

खगेन्द्र कार्की

विराटनगर । विराटनगर–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १९ जना कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको छ।

कारागारको ‘बी ब्लक’मा लामो समयदेखि विवाद हुँदै आएकोमा शुक्रबार विवाद बढेपछि कुटाकुट भएको कारागार प्रशासनले जनाएको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हस्तक्षेप गरी १९ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङ पुर्‍याएका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार स्थानान्तरण गरिएका कैदीबन्दीलाई झापा, झुम्का र वीरगन्ज कारागार पठाइएको छ।

मिश्रका अनुसार ती १९ कैदीबन्दीलाई यसअघि नै अन्यत्र स्थानान्तरण गर्ने तयारी गरिएको थियो। तर, कारागारभित्रबाट सहयोग नहुँदा प्रक्रिया अघि बढ्न सकेको थिएन।

‘हामीले यसअघि नै १९ कैदीबन्दीलाई सरुवा गर्ने भनेर लिस्ट निकालेका थियौँ। त्यो बेला भित्रैबाट हामीलाई सहयोग भएको थिएन,’ मिश्रले भने, ‘अहिले कैदीबन्दीहरूबीच नै कुरा नमिलेपछि हामीलाई स्थानान्तरण गर्न सहज भयो।’

केही दिनअघि कारागारमा प्रहरी प्रवेश गरेको भन्दै कैदीबन्दीले प्रहरी प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका थिए।

खगेन्द्र कार्की
प्रतिक्रिया