भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता

खगेन्द्र कार्की

इटहरी ।  भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ भने ४ हजार ८ सय ९८ जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका छन्। त्यस्तै, ५०१ वटा शवका आंशिक अंग फेला परेका छन्, जसको पहिचान हुन बाँकी छ।

बेपत्ता हुनेमध्ये २ हजार ९३० जना नेपाली र ६१८ जना विदेशी नागरिक रहेका छन्। नेपाली बेपत्तामध्ये २ हजार ४४८ पुरुष र ४८२ महिला छन्। थप १ हजार ३५० जनाको बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार ६३१ जनाको जीवित उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ७ हजार ३८७ नेपाली र १ हजार २४४ विदेशी नागरिक छन्। विस्थापित ३ हजार ६५५ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।

खोज तथा उद्धारका लागि ७ हजार २१२ जना प्रहरी परिचालन गरिएको छ। उद्धारका क्रममा ६५ जना प्रहरी कर्मचारी प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन छन्।

फेला परेका शवमध्ये १ हजार ३० वटा शव गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। मृतकको पहिचानका लागि DNA नमुना संकलनलाई पनि तीव्रता दिइएको छ। हालसम्म १ हजार २६० मृतक र ९७२ आफन्त गरी २ हजार २३२ जनाको DNA नमुना संकलन गरिएको छ।

पहिचान हुन नसकेका १ हजार २७० जनाको विवरण वेबसाइटमा अपलोड गरिएको प्रहरीले जनाएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया