इटहरी । चितवनको भरतपुरस्थित गेस्ट हाउस चउरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन भव्य रूपमा आइतबार उद्घाटन गरिएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त रूपमा पार्टीको निर्वाचन चिह्न ‘घण्टी’ बजाएर गरेका हुन् । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, कार्यकर्ता तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
अपराह्न ३ बजेपछि सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह महाधिवेशनस्थल पुगेका थिए । कार्यक्रमस्थलमा पुग्ने क्रममा पानी परेपछि दुवै नेता छाता ओढेर मञ्चतर्फ गएका थिए । मञ्चमा पुगेपछि उनीहरूले उपस्थित विशिष्ट अतिथिहरूसँग हात मिलाएर स्वागत गरेका थिए । यस क्रममा रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापासँग अँगालो मारेर अभिवादन गरेका थिए । त्यसपछि सामूहिक रूपमा घण्टी बजाएर महाधिवेशनको औपचारिक उद्घाटन गरिएको थियो । प्रधानमन्त्री बालेनले मञ्चमा उपस्थित अन्य दलका नेताहरूलाई समेत घण्टी वितरण गरेका थिए ।
महाधिवेशन उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका सभापति गगन थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली तथा नेकपाका नेता वर्षमान पुनलगायत शीर्ष नेताहरू सहभागी भएका थिए । उनीहरूले शुभकामना मन्तव्य दिँदै रास्वपाको आगामी राजनीतिक यात्राका लागि सुझावसमेत प्रस्तुत गरेका थिए ।
रास्वपाका सभापति रवि लामिछानेले पूर्वसहमति अनुसार नै सरकार अघि बढेको भन्दै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भटाभट गोल हान्ने बताएका छन् ।
‘सरकार सञ्चालन गर्ने पूर्वसहमति अनुसार रास्वपाका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुगेको छ । भटाभट गोल हान्ने जिम्मा उहाँलाई नै छ । झुक्किएर मेरो खुट्टामा आएछ भने पनि पास गरेर उहाँको खुट्टामा पु¥याउने जिम्मा मेरो हो,’ रविले भने । इतिहासलाई साक्षी राखेर गरिएका अक्षर–अक्षरको पालना गर्ने उनको भनाइ छ । रास्वपालाई लडाउने, ढलाउने प्रयास निक्कै हुने भन्दै उनले आफूहरू त्यसबाट उठ्ने बताए ।
उद्घाटन सत्रमा प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्दै नबोलौँ भन्दा पनि बोल्नैपर्ने दिन आएको बताएका छन् । प्रधानमन्त्री शाहले रास्वपामा समूहको नाममा बिउ रोप्न नहुने बताएका छन् ।
राम्रो राजनीतिज्ञ बन्न जनताको माया जित्नुपर्ने भन्दै उनले गुट र समूहको राजनीति नगर्न आग्रह गरेका हुन् । ‘त्यस्तो समूहको बिउ नरोप्नुहोस् । त्यस्तो बिउ रोप्नु हुँदैन । यस्तो कुराले पार्टी सकिन्छ भन्ने कुरा हामीले पुराना दलबाट सिक्नुपर्छ,’ उनले भने ।
रास्वपाका उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले पार्टीको उदय पुरानो पुस्तासँग संघर्ष गर्न नभई नयाँ राजनीतिक संस्कार स्थापित गर्न भएको बताए । उनले रास्वपाको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तन रहेको स्पष्ट पारे । “हामी कसैलाई हराउन होइन, नेपाललाई जिताउन आएका हौँ । पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाउन आएका हौँ,” उनले भने । वाग्लेले जनतामा बढ्दो परिवर्तनको चाहनाले रास्वपालाई लोकतान्त्रिक विद्रोहको आवाजका रूपमा स्थापित गरेको धारणा राखे ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रास्वपालाई वैकल्पिक राजनीतिको अगुवा शक्ति भएको उल्लेख गर्दै सुशासन र समृद्धिको एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन सुझाव दिए । उनले चार वर्षको छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थन प्राप्त गरेको भन्दै त्यसलाई नयाँ राजनीतिक अभियानको महत्वपूर्ण उपलब्धि बताए । साथै, पार्टीभित्रको एकता कायम राख्न सके भविष्य अझ उज्ज्वल हुने विश्वास व्यक्त गरे ।
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशनको सफलताको शुभकामना दिँदै लोकतान्त्रिक संस्थाहरूलाई सम्मान गर्न आग्रह गरे । उनले न्यायालय, राष्ट्रपति संस्था तथा संसदलाई कमजोर बनाउने गतिविधिबाट टाढा रहन सुझाव दिँदै लोकतन्त्रप्रतिको प्रतिबद्धता अझ स्पष्ट रूपमा देखाउनुपर्ने बताए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले परिवर्तनको अपेक्षासहित रास्वपालाई समर्थन गरेको उल्लेख गर्दै संविधान संशोधन र राष्ट्रिय सहमतिका विषयमा ध्यान दिन आग्रह गरे । उनले निषेधको राजनीति त्यागेर सबै विचारलाई समेट्ने वातावरण बनाउनुपर्ने धारणा राखे ।
नेकपाका नेता वर्षमान पुनले रास्वपाले सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अझ स्पष्ट प्रतिबद्धता जनाउनु पर्ने बताए । उनले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका विषयमा रास्वपा र नेकपाबीच सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै लोकतान्त्रिक विधि र संविधानको सीमाभित्र रहेर काम गर्न सुझाव दिए ।
त्यस्तै, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई नयाँ दिशातर्फ लैजाने अवसर रास्वपालाई प्राप्त भएको बताए भने जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन शाहको नेतृत्व शैलीको प्रशंसा गर्दै नयाँ पुस्ताको नेतृत्वप्रति आशा व्यक्त गरे ।
यसरी विविध राजनीतिक धारका नेताहरूको उपस्थितिमा सम्पन्न उद्घाटन समारोहले रास्वपाको पहिलो महाधिवेशनलाई राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनाएको छ । महाधिवेशनबाट पार्टीको भावी नेतृत्व, वैचारिक दिशा र संगठनात्मक संरचना तय हुने भएकाले यसप्रति देशव्यापी चासो र अपेक्षा बढेको छ ।
रास्वपा महाधिवेशनको कार्यतालिका सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ भने आइतबार राति ११ बजे प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ । निर्वाचन तालिकाअनुसार सोमबार दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयनका लागि फारम वितरण सुरु हुनेछ भने दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ । सोही दिन साँझ ६ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । त्यसपछि साँझ ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । दाबी–विरोध परेका उम्मेदवारमाथि साँझ ७ बजेदेखि राति ९ बजेसम्म जाँचबुझ गरिनेछ भने राति ९ः१५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ । उम्मेदवारहरूको अन्तिम नामावली सोमबार राति ११ बजे सार्वजनिक गरिने आयोगले जनाएको छ । असार ९ गते मङ्गलबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान हुनेछ, जसमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान गरिनेछ ।
खगेन्द्र कार्की
७ असार २०८३, अाईतबार ०८:१८ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो