दमक । धार्मिक आस्था, सामाजिक सद्भाव र मानवीय एकताको सन्देशसहित झापाको दमकमा भव्य रथयात्रा सम्पन्न भएको छ । विभिन्न धर्म, जातजाति र समुदायसँगै सामाजिक संघसंस्था, राजनीतिक दल, व्यवसायी, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागितामा निकालिएको रथयात्राले दमकलाई धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताको साझा थलोका रूपमा प्रस्तुत गरेको छ ।
यस वर्षको रथयात्राले मुख्यतः सामाजिक सद्भाव र एकता तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र पीडितप्रति ऐक्यबद्धताको सन्देश दिएको आयोजकले जनाएको छ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवार तथा नागरिकप्रति ऐक्यबद्धता जनाइएको थियो ।
बाढी प्रभावितको उपचार, बेपत्ताको खोजी, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रथयात्राका क्रममा संकलन हुने भेटी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने व्यवस्था मिलाइएको थियो । यात्राका क्रममा विभिन्न स्थानमा आधा दर्जनभन्दा बढी दानपेटिका राखिएका थिए भने क्यूआर कोडमार्फत समेत सहयोग संकलन गरिएको थियो । युवा स्वयंसेवकहरू दान संकलन तथा भक्तजन व्यवस्थापनमा सक्रिय देखिन्थे ।
धार्मिक परम्परालाई निरन्तरता दिँदै रथयात्रालाई मानवीय सेवासँग जोडिएको आयोजकको भनाइ छ । ‘धर्म फरक हुन सक्छ, तर मानवता सबैको साझा हो’ भन्ने भावनालाई रथयात्राले व्यवहारमै प्रस्तुत गरेको उनीहरूको दाबी छ ।
रथयात्रा कुनै एउटा धर्म, जाति वा समुदायमा सीमित नरही दमकवासीको साझा उत्सव र अपनत्वको प्रतीकका रूपमा विकास हुँदै गएको छ । प्रणामी, कबिर, नेपाल मानव धर्म सेवा समिति, किराँत धर्म साहित्य उत्थान, मारवाडी सेवा समिति, इस्कोनलगायत धार्मिक संस्थाले सुरुदेखि नै रथयात्रालाई साझा कार्यक्रमका रूपमा अपनत्व दिँदै आएका छन् । सामाजिक संघसंस्था, राजनीतिक संघसंगठन, खेलकुद संस्था तथा व्यापारी–व्यवसायीका संस्थासमेत यात्रामा सहभागी भएका थिए ।
विविध समुदायको सहभागिताले रथयात्रालाई धार्मिक कार्यक्रमभन्दा पनि सांस्कृतिक उत्सवको रूप दिएको थियो । नेवारी समुदायको लाखे नाच, सन्थाल समुदायको नाच, लिम्बू समुदायको च्याब्रुङ नाच तथा सशस्त्र प्रहरीको ब्याण्ड बाजासहितका विभिन्न झाँकीले यात्राको आकर्षण बढाएका थिए । विशेषगरी नेवारी समुदायको उल्लेख्य सहभागिता र सांस्कृतिक प्रस्तुतिले दर्शकको ध्यान तानेको थियो ।
आयोजकका अनुसार विभिन्न समुदायले आफ्ना मौलिक कला, संस्कृति र परम्परा प्रस्तुत गर्नुको उद्देश्य धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सम्मान, भाइचारा र सहअस्तित्वको भावना बलियो बनाउनु हो । त्यसैले रथयात्रा दमकको सामूहिक पहिचानको प्रतीकका रूपमा स्थापित हुँदै गएको उनीहरूको भनाइ छ ।
रथयात्रामा सहभागी भक्तजनको सेवाका लागि विभिन्न संघसंस्थाले ठाउँ–ठाउँमा पानी, सर्वत, फ्रुटी, चिसो पेय पदार्थ तथा फलफूल वितरण गरेका थिए । स्वयंसेवकहरूले भक्तजनले प्रयोग गरेका पानीका बोतल, फ्रुटीका प्याकेट तथा अन्य सामग्रीबाट उत्पन्न फोहोरसमेत संकलन गरेका थिए ।
स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै आकस्मिक अवस्थाका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो । स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको समेत सहयोग लिइएको आयोजकले जनाएको छ ।
रथयात्रा दिउँसो २ बजे राधाकृष्ण मन्दिरबाट विधिपूर्वक सुरु भएको थियो । नगर प्रहरीको सलामी तथा आरतीपछि यात्रा अघि बढाइएको थियो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र प्रभाव दमकका पाँच कन्यालाई अगाडि लगाइएको थियो ।
राधाकृष्ण मन्दिरबाट सुरु भएको यात्रा हनुमान मन्दिर, जेसीज चोक, देवकोटा चोक, पशुपति मन्दिर, शंखधर चोक, भृकुटी चोक, रातो पुल, भानुभक्त चोक हुँदै फागुनन्द चोकतर्फ अघि बढेको थियो । त्यसपछि दमक नगरपालिका र बेलडाँगी रोड हुँदै पुनः राधाकृष्ण मन्दिरमा पुगेर रथयात्रा विसर्जन गरिएको थियो ।
यात्राको मार्गमा पर्ने विभिन्न स्थानमा स्थानीयवासीले घरअगाडि घडा राखेर रथयात्रीको स्वागत गरेका थिए । ठाउँ–ठाउँमा आरती तथा प्रार्थनासमेत आयोजना गरिएको थियो ।
रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गरिएको थियो । सशस्त्र प्रहरी बल पाथीभरा ३८ नम्बर गण, इलाका प्रहरी कार्यालय दमक र दमक नगर प्रहरीसँग समन्वय गरिएको आयोजकले जनाएको छ । ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरी कार्यालय, जीवनचक्र समाज र दमक नगर प्रहरी परिचालित थिए ।
त्यसैगरी दमक युथ क्लब, लायन्स क्लब, जेसीज, रोटरी क्लब, लियो क्लब लगायतका विभिन्न संघसंस्थाका स्वयंसेवक खटिएका थिए । उनीहरू रथ तान्नेदेखि भक्तजनको व्यवस्थापन, सेवा, सरसफाइ तथा सुरक्षासम्बन्धी काममा परिचालित भएका थिए ।
नगरपरिक्रमा पूरा गरेपछि राधाकृष्ण मन्दिर परिसरमा पुगेर रथयात्रा औपचारिक रूपमा समापन गरिएको थियो । आयोजकले रथयात्रालाई आगामी दिनमा अझ व्यवस्थित बनाउँदै धार्मिक आस्था मात्र नभई सामाजिक एकता, सांस्कृतिक सहअस्तित्व र मानवीय सेवाको साझा अभियानका रूपमा अघि बढाउने जनाएको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो