क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित ८ जना पक्राउ
फाष्ट मिडिया नेपाल संवाददाता
२१ भदौ २०८३, अाईतबार १०:५० मा प्रकाशित
681
जनकपुरधाम । पर्साको वीरगञ्जस्थित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा नेकपा एमालेबाट निर्वाचित सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र जिल्लाकै उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत प्रहरी निरीक्षक प्रदीप पौडेलसहित आठ जना पक्राउ परेका छन् ।
पर्सा प्रहरीले भदौ १२ गते राति वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ परेकामध्ये चार जना नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा र अन्य चार जना नेपालीलाई क्यासिनो प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जुवा खेलिरहेको सूचनाका आधारमा भदौ १२ गते राति करिब १०ः३० बजे प्रहरी टोली क्यासिनो पुगेको थियो । त्यसक्रममा सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय गाउँपालिका अध्यक्ष यादवसहित वीरगञ्ज–११ का ३० वर्षीय चन्दन सहनी, सोही वडाका ३९ वर्षीय ओमप्रकाश बैठा र स्याङ्जाको हरिनास गाउँपालिका–९ का ३६ वर्षीय प्रहरी निरीक्षक पौडेललाई नियन्त्रणमा लिइएको हो ।
पौडेल पोखरिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हुन् । प्रहरी स्रोतका अनुसार उनी ड्युटीमा रहेका बेला क्यासिनो पुगेका थिए । पक्राउ परेका अध्यक्ष यादव नेकपा एमालेबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै नेपालीलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह पक्राउ परेका छन् ।
प्रहरीले घटनाको अनुसन्धानका क्रममा सखुवाप्रसौनी गाउँपालिकाको सरकारी सवारीसाधनसमेत क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको छ । ना १ झ १६८७ नम्बरको स्कर्पियो क्यासिनो परिसरमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
घटनास्थलबाट प्रहरीले क्यासिनोको हार्डडिक्स, विभिन्न कागजात, कम्प्युटर तथा सीसीटीभीको डीभीआर बक्ससमेत नियन्त्रणमा लिएको जनाएको छ । ती सामग्रीबाट नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराउने तथा जुवा खेलाउने गतिविधिबारे थप प्रमाण संकलन हुने प्रहरीको भनाइ छ ।
निर्वाचनमा उत्कृष्ट काम गरेका प्रहरी निरीक्षक
पक्राउ परेका प्रहरी निरीक्षक पौडेल गत वर्ष असोजको अन्तिम साता प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागबाट वीरगञ्ज पुगेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवनकुमार भट्टराईले पौडेललाई पक्राउ गरिएको पुष्टि गर्दै उनी २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्कृष्ट काम गरेको भन्दै प्रदेश प्रहरीबाट नगदसहित पुरस्कृत भएको जानकारी दिएका छन् ।
प्रहरीका अनुसार शनिबार राति ड्युटी छाडेर पौडेल गाउँपालिका अध्यक्ष यादव तथा केही स्थानीय व्यवसायीसहित क्यासिनो पुगेका थिए । प्रहरीकै संरक्षणमा नेपाली नागरिकलाई क्यासिनोमा निर्वाध प्रवेश गराई जुवा खेलाउने गरिएको सूचनापछि एसपी भट्टराई आफैं क्यासिनोमा पुगेर छापा मारेको प्रहरी स्रोतको भनाइ छ । घटनामा पक्राउ परेका आठै जनामाथि अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।