इटहरी । सीमा व्यवस्थापन र अतिक्रमण नियन्त्रणका विषयमा नेपाल–भारतबीच संवाद र सहकार्य बढिरहेका बेला झापाको कचनकवल गाउँपालिका–५ पाठामारीस्थित दशगजा क्षेत्रमा लगाइएको चिया खेती हटाइएको छ। झापाको बिर्तामोडमा सम्पन्न नेपाल–भारत संयुक्त सीमा समीक्षा बैठकपछि संयुक्त सीमा गस्ती टोलीले दशगजा क्षेत्रमा रहेका करिब ६० देखि ६५ वटा चियाका बोट उखेलेर हटाएको हो।
नापी विभागको आयोजनामा भएको बैठकमा झापा, इलाम, पाँचथर र ताप्लेजुङसँग जोडिएका सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्था, संरक्षण, मर्मत तथा पुनःनिर्माणका विषयमा समीक्षा गरिएको थियो। दुवै देशका अधिकारीहरूले नदीको बहावका कारण क्षति पुगेका, ढलेका तथा कमजोर बनेका सीमा स्तम्भहरूको संयुक्त रूपमा संरक्षण र पुनःस्थापनाका लागि सहकार्य गर्ने सहमति गरेका छन्। बैठकमा नेपालका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, नापी तथा वन कार्यालयका प्रतिनिधिहरूसँगै भारतको बिहारस्थित किशनगञ्ज र पश्चिम बङ्गालको दार्जिलिङका प्रशासनिक तथा सर्वेक्षक अधिकारीहरूको सहभागिता रहेको थियो।
तीन महिनाको अवधिमा सम्पन्न फिल्ड कार्यको प्रगति, सीमा व्यवस्थापन र आपसी समन्वयका विषयमा पनि विस्तृत छलफल भएको थियो। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार बैठक मुख्य रूपमा सीमा स्तम्भहरूको अवस्था र मर्मतसम्भारमा केन्द्रित थियो। नापी विभागका वरिष्ठ नापी अधिकृत हरेराम यादवले नदीले क्षति पुर्याएका तथा कमजोर बनेका सीमा स्तम्भहरूको संयुक्त रूपमा समीक्षा गरिएको जानकारी दिए।
यद्यपि बैठकका क्रममा दशगजा क्षेत्रमा भइरहेको अतिक्रमण र खेतीपातीका विषय पनि उठाइएको थियो। त्यसको लगत्तै प्रहरी चौकी पाठामारी, बीओपी पाठामारी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले सीमा स्तम्भ नम्बर ११४ नजिक सुनकोशी चिया बगानद्वारा लगाइएका चियाका बोट हटाएको हो। उक्त चिया बगान स्थानीय व्यवसायी दिलबहादुर थेबेको स्वामित्वमा रहेको बताइएको छ।
नेपाल–भारत सम्बन्धमा सीमा मुद्दा लामो समयदेखि संवेदनशील र राजनीतिक रूपमा प्रभावशाली विषय रहँदै आएको छ। कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता तथा दशगजा अतिक्रमणजस्ता विषयले बेला–बेलामा राजनीतिक तरंग सिर्जना गर्दै आएका छन्। तर पछिल्ला घटनाक्रमले सीमा समस्या केवल राजनीतिक नाराबाजीको विषय नभई प्राविधिक अध्ययन, कूटनीतिक संवाद र संस्थागत सहकार्यबाट समाधान खोज्ने दिशातर्फ उन्मुख भएको संकेत गरेका छन्।
यसै क्रममा विभिन्न राजनीतिक तथा कूटनीतिक पहलसँगै नेपाल–भारत संयुक्त प्राविधिक संयन्त्र पुनः सक्रिय बनेको छ। सीमा स्तम्भहरूको निर्माण तथा मर्मत, दशगजा अतिक्रमणको अभिलेखीकरण र संयुक्त निरीक्षणका कामलाई प्राथमिकता दिइएको छ। विज्ञहरूका अनुसार सीमा विवादको समाधान भावनात्मक भाषणभन्दा तथ्य, नक्सा, अभिलेख र संयुक्त प्राविधिक अध्ययनबाट सम्भव हुन्छ।
बिर्तामोडमा सम्पन्न संयुक्त समीक्षा बैठक र त्यसपछि गरिएको दशगजा क्षेत्रको चिया खेती हटाउने कार्यलाई सीमा व्यवस्थापनतर्फको व्यावहारिक कदमका रूपमा हेरिएको छ। वर्षौँदेखि राजनीतिक बहसमा सीमित रहेको सीमा मुद्दा अब सीमास्तम्भको संरक्षण, अतिक्रमण नियन्त्रण र संयुक्त अनुगमनजस्ता ठोस कार्यमा रूपान्तरण हुन थालेको संकेत देखिएको छ। यदि यही सक्रियता र निरन्तरता कायम रह्यो भने नेपाल–भारत सीमा सम्बन्धी धेरै समस्या संवाद, तथ्य र सहकार्यका आधारमा समाधानतर्फ अघि बढ्न सक्ने अपेक्षा गरिएको छ।
खगेन्द्र कार्की
३१ जेठ २०८३, अाईतबार ०६:३९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो