फिफा विश्वकपमा ब्राजिल–मोरक्को र कतार–स्विट्जरल्यान्ड बराबरी
खगेन्द्र कार्की
३१ जेठ २०८३, अाईतबार ०६:१८ मा प्रकाशित
633
फिफा विश्वकप अन्तर्गत भएका दुई खेल १–१ गोलको बराबरीमा सकिएका छन्। अमेरिकामा आज बिहान सम्पन्न खेलमा ब्राजिल र मोरक्कोले अंक बाँडेका हुन्।
न्यु जर्सीस्थित मैदानमा भएको खेलको २१औँ मिनेटमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। तर ३२औँ मिनेटमा भिनिसियस जुनियरले गोल फर्काउँदै ब्राजिललाई खेलमा बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल १–१ को बराबरीमा टुंगियो। विश्वकप इतिहासमा ब्राजिल र मोरक्कोबीच यो दोस्रो भेट हो। यही समूहको अर्को खेलमा हाइटी र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।
यस्तै, क्यालिफोर्नियाको सान्ता क्लारास्थित लेभाइस स्टेडियममा भएको अर्को खेलमा कतार र स्विट्जरल्यान्डले पनि १–१ को बराबरी खेले। खेलको १७औँ मिनेटमा ब्रिल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। कतारका गोलरक्षक महमुद अबुनादाले एम्बोलोलाई फल गरेपछि स्विट्जरल्यान्डले पेनाल्टीको अवसर पाएको थियो।
खेलभर स्विट्जरल्यान्डले बल नियन्त्रणमा वर्चस्व कायम गरे पनि अग्रता जोगाउन सकेन। इन्जुरी समयको पाँचौँ मिनेटमा बुआलेम खुखीले हेडमार्फत गोल गर्दै कतारलाई हारबाट जोगाए। अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै कतारले महत्वपूर्ण एक अंक सुरक्षित गरेको हो।
यससँगै दुवै खेल बराबरीमा सकिँदा ब्राजिल, मोरक्को, कतार र स्विट्जरल्यान्डले समान एक–एक अंक बटुलेका छन्।