इलाम । २०५६ देखि नै एकछत्र राज गर्दै आएका एमाले नेता सुवास नेम्वाङको निधनपछि खाली हुन गएको इलाम–२ को प्रतिनिधिसभा सदस्य पदमा उपनिर्वाचन नजिकिँदैछ । विगतमा नेकपा एमालेको बर्चस्व रहँदै आएको इलाम–२ यो पटक एमालेका लागि पनि सहज देखिँदैन । तथापि मतदाताको हिसाबले भन्दा पनि दलहरुको प्रभावका हिसाबले हेर्ने हो भने अरु भन्दा दर्बिलो र प्रभावशाली चाहि एमाले नै देखिन्छ । यो निर्वाचनमा स्वतन्त्र र नयाँ पार्टी रास्वपाले समेत प्रभाव पार्दै जानुले पनि अन्य ठूला दललाई जित सहज नहुने आँकलन गरिएको छ । २०५६ साल यताका सबै चुनावमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। हरेक निर्वाचनमा कांग्रेसले हार व्यहोर्दै आएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा नेम्वाङले कांग्रेसका उम्मेदवार केशव थापालाई तीन हजार ७०४ मतान्तरले पराजित गरेका थिए। त्यति वेला नेम्वाङले १७ हजार ७४८ मत पाएका थिए भने कांग्रेसका थापाले १४ हजार ४४ मत पाएका थिए।
त्यसपछि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा कांग्रेसले भेषराज आचार्यलाई उम्मेदवार बनाएको थियो। त्यति वेला पनि नेम्वाङ नै निर्वाचित भएका थिए। भेषराजले १२ हजार ८२८ मत पाउँदा नेम्वाङले १४ हजार ९३० मत पाएका थिए।
नयाँ संविधान बनेपछि २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले केशव थापालाई उम्मेदवार बनाएको थियो। त्यति वेला नेम्वाङ झन् फराकिलो मतान्तरले निर्वाचित भएका थिए। थापाले २६ हजार ८६० मत पाउँदा नेम्वाङले ३६ हजार ५१७ मत पाएका थिए।
पछिल्लो निर्वाचनमा कांग्रेसले माओवादी लगायत दलसँग गठबन्धन गर्दा पनि जित हासिल गर्न सकेन। २०७९ सालमा नेम्वाङ ३० हजार २० मत पाएर प्रतिनिधि सभा सदस्य निर्वाचित भए भने प्रतिस्पर्धी कांग्रेसका जिल्ला सभापति डम्बर खड्काले २९ हजार ९०६ मत पाएका थिए।
गाउँ गाउँसम्म संगठन बलियो भएकाले अहिले पनि सहजै जित हासिल हुने एमाले नेताहरूको दाबी छ। विगतका निर्वाचनले पनि अन्य दलले धेरै मिहिनेत गर्नुपर्ने देखाएका छन्। एमाले युवा नेता दिनेश ढकाल भन्छन्, “एमालेको गाउँसम्मको संगठनको आधारमा भन्छु, इलाम(२ मा सूर्य बाहेकको चुनाव चिह्नले जित्न असम्भव नै छ।”
नेता नेम्वाङले जितिरहेको यस क्षेत्रमा छोरा सुहाङलाई उम्मेदवार बनाउने एमालेको रणनीति छ। जिल्ला र प्रदेशबाट केन्द्रमा पाँच जनाको नाम पठाए पनि सुहाङकै सम्भावना बलियो रहेको एमाले नेताहरू बताउँछन्। “आकांक्षीको नाम केन्द्रमा पठाउनु भनेको अरू दाबेदारप्रति सहानुभूति देखाउनु पनि हो,” एमालेका एक नेता भन्छन्, “जनताको सहानुभूति भने सुहाङप्रति छ। त्यसलाई एमाले केन्द्रले पनि बुझेको छ।”
इलामका कांग्रेस नेताहरू भने यस पटक चुनाव जित्ने मौका भएको बताउने गरेका छन्। नेता नेम्वाङ जति प्रभावशाली अर्को उम्मेदवार नहुने भएकाले जित्न सजिलो हुने कांग्रेस नेता तथा कार्यकर्ताको आकलन छ। एमालेको उम्मेदवार तय भएपछि मात्रै कांग्रेसको उम्मेदवार टुंगो लगाउने योजना रहेको एक नेता बताउँछन्।
यससँगै रास्वपाले युवा उम्मेदवारलाई प्राथमिकतामा राख्ने तयारी गरेको छ। केही युवा पनि स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन्। जसले गर्दा कांग्रेस, एमाले लगायतका दललाई पनि युवा उम्मेदवार बनाउनुपर्ने चुनौती सँगै जितका लागि निकै पापड पेल्नुपर्ने देखिन्छ । हिमाल खबरको सहयोगमा ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो