रिकेश निरौला । इनरुवा । सुनसरीको दक्षिणी सिमावर्ती पालिका बर्जुको अमडुवामा सशस्त्र प्रहरी बल नेपालको ९ औं बोर्डर आउट पोष्टको उद्घाटन गरिएको छ । कोरोना महामारीको समयमा हर्बोनीमा स्थापना भएको फरवार्ड वेशलाई सशस्त्र प्रहरी बलले बिओपीको रुपमा संचालनमा ल्याएको हो ।
बर्जु गाउँपालिका ४ मा स्थापना भएको उक्त बिओपीको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेलले उद्घाटन गरेका हुन ।
गाउँपालिका अध्यक्ष जिवछ कुमार राय, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग लगायतको उपस्थितिमा हर्बोनी बिओपीको आज उद्घाटन गरिएको हो ।
सशस्त्र प्रहरी बलले बिराटनगरका रोमी शर्मा जैनले उपलब्ध गराएको ४ कट्ठा र बर्जु गाउँपालिकाले उपलब्ध गराएको २ कट्ठा गरी ६ कट्ठा क्षेत्रफलमा बिओपी निर्माण गरेको छ ।
कार्यक्रममा बोल्दै बराह बाहिनीका बाहिनीपति पोखरेलले सशस्त्र प्रहरीले सीमा सुरक्षा र चोरी तस्करी नियन्त्रण सँगै सीमा अपराध नियन्त्रण लगायतका क्षेत्रमा काम गर्दै आएको बताए ।
पोखरेलले संगठनका नीति अनुसार पहाडी भेगको जनशक्ति कटौती गरी सीमा क्षेत्रमा परिचालन गरिदै आएको बताए ।
उद्घाटन भई कार्य सञ्चालनमा आएको सो बिओपीले ३ दशमलव ९ कि.मि क्षेत्र भित्रको ५१ वटा सीमा स्तम्भको रेखदेख, सुरक्षा र सीमा अपराध नियन्त्रण जस्ता कार्य गर्ने सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीका प्रमुख एसपी समेनन्द बज्राचार्यले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रजिअ आचार्य, नेपाल प्रहरी डिआर्जी खापुङ्गलगायतले स्थानीय नै सीमाको पहिलो रक्षक भएकोले स्थानीयसँगै सहकार्य र समन्वयमा मात्रै सीमा सुरक्षा र अपराध नियन्त्रण हुन सक्ने भन्दै सबैको सहकार्यको अपेक्षा ब्यक्त गरेका थिए ।
कार्यक्रममा जग्गादाता सहितकालाई सम्मान समेत गरिएको थियो । हर्बोनीमा बिओपी उद्घाटन भएसँगै सुनसरीमा सशस्त्र प्रहरीको बिओपी संख्या ९ पुगेको छ । नम्बर ४ गण हेड क्वाटर सुनसरीका अनुसार जिल्लामा ६ वटा वेश, २ वटा प्रस्तावित गुल्म र ९ बिओपी रहेका छन ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो