रामधुनीमा ३ दिने बाल सिर्जना लेखन तालिम सम्पन्न

फाष्ट मिडिया नेपाल संवाददाता

रिना तामाङ, सुनसरी। सुनसरीको रामधुनी ९ स्थित श्री शनिश्चरे माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न तीन दिवसीय बाल सिर्जना लेखन तालिम आईतबार सम्पन्न भएको छ। सेभ द अर्थ सुनसरीको आयोजना तथा ई.टी.सी नेपालको समन्वयमा एकिकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गतको सो तालिम शुक्रबार सुरु भई आईतबार सम्पन्न भएको हो।


तीन दिने तालिममा विद्यार्थीहरुलाई समाचार लेखन, भित्ते पत्रिका प्रकाशन बारेमा प्रशिक्षण दिएको थियो।उनीहरूलाई सञ्चारकर्मीद्वय दयाराम कटेल र अंकित भट्टराईले सहजीकरण गरेका थिए।

विद्यार्थीहरुमा हराउँदै गएको लेखन संस्कृति तथा प्रतिभा उजागर गर्ने उद्देश्यले एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत तालिम आयोजना गरिएको सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिएका छन्। उनले भित्ते पत्रिकाले विद्यार्थीलाई सृजनशील बन्न प्रोत्साहन गर्ने बताउँछन्। भट्टराईले विद्यार्थीहरुले विभिन्न किसिमका लेख, कविता, कथा लेख्ने तर प्रकाशनका लागि उचित ठाउँ नपाएको अवस्थामा भित्ते पत्रिकाको अवधारणाले विद्यार्थीहरुका रचना समेट्ने भएकाले यसको महत्व रहेको बताएका छन्।

उक्त तालिमले विद्यार्थीकै संलग्नता र नेतृत्वबाट भित्ते पत्रिका मासिक रूपमा प्रकाशन हुने भएको छ। भित्ते पत्रिकामा विद्यार्थी आफैले रचेका कथा, कविता, गजल, लेख, सूचना मुलक समाचार आदि प्रकाशित हुने छन्। चित्र, कार्टुन, चुट्किला जस्ता मनोरन्जनत्मक सामग्रीसमेत अटाउने भएका छन्।

तालिममा श्री शनिश्चरे मा. वि र श्री चन्द्र कमल मा.विका कक्षा ७, ८ र ९ का गरी कुल २० विद्यार्थीहरुले सहभागीता जनाएका थिए। तालिमबाट दुबै विद्यालयमा भित्ते पत्रिका प्रकाशनका लागि सम्पादकीय मण्डल पनि गठन गरिएको छ। विद्यार्थीहरुले तालिमको दौरान नमुनाको रूपमा भित्ते पत्रिका समेत प्रकाशन गरेका छन्।




तालिममा सहभागी विद्यार्थीहरु सहित सहजकर्तालाई प्रमाणपत्र पनि उपलब्ध गरिएको छ। 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया