रामधुनी ९ मा नारी दिवस विशेष कार्यक्रम सम्पन्न

दयाराम कटेल

मोरङ। आज ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस । "महिलामा लगानी: सभ्य समुन्नत समाजको थालनी" नाराका साथ शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा सुनसरीको रामधुनी नगरपालिकामा पनि एक कार्यक्रम आयोजना गरियो । रामधुनी नगरपालिका वडा नम्बर ९ को सहयोग, सेभ द अर्थ र ईटीसी नेपालसङ्गको समन्वयमा वडा महिला समितिले डुम्राहा स्थित सभाहलमा नारी दिवस विशेष कार्यक्रम आयोजना गरेको हो । 


कार्यक्रमको अवसरमा वडा नम्बर ९ मा ईटीसी नेपाल र सेभ द अर्थको संयोजनमा गठित महिला समुहहरु मध्ये उत्कृष्ट तीन समुहलाई सम्मान पनि गरियो । उनीहरुलाई प्रोत्साहन स्वरुप नगर पुरस्कारसहित सम्मान गरिएको हो । 

वचत परिचालन, ऋण असुली, तालिममा सहभागीता, कोषमा रकम फिर्ता, समुहमा मेलमिलाप आदिलाई आधार मानेर उत्कृष्ट तीन घोषित गरिएको सेभ द अर्थकी महिला सशक्तीकरण युनिटकी प्रमुख हिरा अधिकारीले जानकारी दिइन् । जस अनुसार पहिलो स्थान हाँसिल गर्ने सितकदम महिला समुहलाई नगद पाँच हजार, द्वितीय हुने रामजानकी महिला समुहलाई चार हजार पाँच सय, र तृतीय स्थानको दुर्गा महिला समुहलाई चार हजार नगद सहित सम्मान गरिएको थियो ।


यस्तै कार्यक्रममा खेल क्षेत्र, निजामती सेवा, प्राविधिक शिक्षा तथा अन्य क्षेत्रमा रहेर आफूलाई उदाहरणीय र अब्बल सावित गर्ने महिलाहरुलाई पनि सम्मान गरिएको सेभ द अर्थकी सामाजिक परिचालिका पुजा चौधरीले जानकारी दिइन्।


कार्यक्रमलाई सम्बोधन गर्दै ९ नम्बरका वडाध्यक्ष घनश्याम चौधरीले वडाभित्रका महिलाहरुका निम्ति विभिन्न सीपमूलक तालिम, अन्तरपालिका भ्रमण, तथा विभिन्न संघसंस्थासङ्गको समन्वयमा क्षमता विकास तालिम आयोजना गर्ने गरेको वताए । उनले महिला तथा घरेलु हिंसाको विषयमा वडाले शुन्री सहनशीलता अपनाएको वताए ।


कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले महिला हिंसाको परिचय, यसका असर र हिंसा न्यूनीकरणका सन्दर्भमा चर्चा गरेका थिए । प्रहरी चौकी, डुम्राहाले महिला हिंसाका विविध पक्षबारे सचेतनामूलक प्रस्तुति दिएको थियो । 


वडा महिला संजालकी सदस्य राम कुमारी चौधरीको सभाध्यक्षतामा सञ्चालित कार्यक्रममा , जिल्ला समन्वय समिति सुनसरीकी सदस्य लाल कुमार चौधरी, सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

दयाराम कटेल
प्रतिक्रिया