दिवंगत नेता नेम्वाङका दुवै छोरा विदेशबाट फर्किए, भोलि राजकीय सम्मानका साथ स्व. नेम्वाङको दाहसंस्कार ११ बजे हुने

खगेन्द्र कार्की

इटहरी ।  दिवंगत एमाले नेता सुवासचन्द्र नेम्वाङका दुवै छोरा बुबाको अन्तिम संस्कारका लागि विदेशबाट फर्किएका छन् । कान्छा छोरा अष्ट्रेलियाबाट हिजो र जेठा छोरा बेलायतबाट आज आइपुगेका हुन् ।स्वर्गीय नेम्वाङका दुई छोरा र दुवै छोरी छन् । जेठा छोरा मिङ्सो नेम्वाङ विवाहित हुन् भने अरुको विवाह भएको छैन । मिङ्सो परिवारसहित यूकेमा बसोबास गर्दै आएका छन् ।

कान्छा छोरा सुहाङ र छोरीहरू भने नेपालमै बस्छन् । उनी केही दिनअघि घुमघामका लागि अष्ट्रेलिया पुगेका थिए । बुबाको निधनको खबर पाएपछि उनी भ्रमण रद्द गरेर तत्काल फर्किएका हुन् । दुवै छोराले एमाले पार्टी कार्यालय च्यासलमा पुगेर बुबालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

नेम्वाङलाई हृदयघात हुँदा घरमा श्रीमती र छोरीहरू थिए । छोरीहरूले उनलाई अस्पताल पुर्‍याएका हुन् ।नेम्वाङको दाहसंस्कार भने भोलिमात्र हुने भएको छ । हिन्दू र लिम्बू परम्पराअनुसार पशुपति आर्यघाटमा भोलि ११ बजे दाहसंस्कार हुने पारिवारिक स्रोतले जानकारी दियो । सरकारले नेम्वाङको राजकीयसम्मानका लागि अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । भोलि उनको निधनको शोकमा सार्वजनिक विदासमेत दिइएको छ । -उज्यालो खबरबाट



खगेन्द्र कार्की
प्रतिक्रिया