फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । नेकपा (एमाले)को कोशी प्रदेश अधिवेशन अन्तरगत प्रतिनिधि छनौटको प्रक्रिया चलिरहेको छ । प्रतिनिधि छनौट प्रक्रिया असोज ५ गतेभित्र सम्पन्न हुने एमालेले जनाएको छ ।
कोशी प्रदेशमा एमालेका १ लाख बढी कार्यकर्ता रहेका छन् । उनीहरूबाट करिब ११ सय प्रतिनिधि छनौट हुनेछन् । प्रतिनिधिहरूले प्रदेशको कार्यसमिति चयन गर्नेछन् । एमालेको कोशी प्रदेश अधिवेशन आगामी असोज १२ र १३ गतेका लागि तोकिएको छ । निर्वाचित अध्यक्षलाई एमालेले पोलिटब्युरो सदस्य सरहको हैसियत दिने व्यवस्था छ । यसकारण पनि प्रदेश अध्यक्ष बन्न नेताहरू तीव्र कसरत गरिरहेका छन् ।
एमालेका पोलिटब्युरो सदस्य समेत रहेका नेता शेरधन राईले हालसम्म एमालेका केन्द्रीय सदस्य समेत रहेका विनोद ढकाल, घनश्याम खतिवडा, कोशी प्रदेशका हालका अध्यक्ष तुलसी प्रसाद न्यौपाने र उपाध्यक्ष टिका चेम्जोङले अध्यक्षको आकांक्षा राखेको बताए ।
‘आकाङ्क्षीहरूले आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ । त्यसलाई अन्यथा मान्ने कुरा भएन । प्रतिनिधि छनौटको काम सुरु भएको छ । कोशी प्रदेशमा सर्वसम्मतिको प्रयास हुन्छ । मलाई लाग्छ सहमतिबाटै नेतृत्व चयन हुन्छ । अन्तिममा सहमति हुन सकेन भने उच्च लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन गर्ने विषय हाम्रो पार्टीमा अभ्यासकै रूपमा आएको छ । त्यही हुन्छ,’ राईले भने, ‘अहिलेसम्म विनोद ढकाल, तुलसी न्यौपाने, घनश्याम खतिवडा, टिका चेम्जोङको दाबी आइरहेको छ । अरू कसैले आकांक्षा राख्नुभएको छैन ।’
‘पार्टीमा दसौँ राष्ट्रिय महाधिवेशनको लाइन, सिद्धान्तमा जबजमा कहीँ विवाद छैन । नेतृत्वमा केपी ओलीको विकल्प कसैले कल्पना गर्न नसक्ने अवस्था छ । त्यसकारण पार्टीमा कुनै ध्रुव पनि छैन,’ राईले भने, ‘पार्टीमा विचार, लाइन वा व्यक्तिको नाममा कुनै ध्रुव नभएको कारण प्यानल बनाउने, चुनाव लड्ने भन्ने खालको अवस्था देखिँदैन । तर, योग्यतम नेताहरुले प्रतिस्पर्धा गर्न खोज्ने विषयलाई अन्यथा लिनु पनि हुँदैन ।’- रातोपाटीबाट
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो