इटहरी । विगत वर्ष झैं यसवर्षको रंगहरुको पर्व होली आज उपत्यका तथा पहाडमा भव्यताका साथ मनाइँदै भने भोलि सोमबार तराई मधेसमा होलीमा रम्ने जमर्कोमा तराईबासी कसिएका छन् । प्रायः फागुन महिनामा पर्ने यो पर्व यस पटक चैत्रको दोस्रो हप्ता अर्थात चैत्र ११ र १२ गते मनाइँदैछ । किम्बदन्ती अनुसार फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर— विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूर्णिमाको राति उक्त चीर (लिङ्गो) लाई ढालेर जलाएपछि होली समाप्त भएको मानिँदै आएको छ । यस कारणले पनि यस पर्वलाई फगुवा पर्वको रुपमा समेत चित्रित गरिन्छ । यो वर्षको आगामी आइतबार पहाडी जिल्लामा होलीको रौनकताले छुने छ भने तराईमा सोमबार परेको छ ।
होली पर्वको महिमालाई कायम राख्दै विकृति शुन्य तरिकाले होली पर्व मनाउन र एकको खुशीमा अर्कोलाई पीडामा नराख्न जिल्ला प्रशासन कार्यालयले कडाईका साथ निगरानी समेत बढाउँदै आएको र यो वर्ष पनि बढाउने भएको छ । इच्छाविपरित रंग दल्ने र लोला हान्नेलाई दुई वर्ष थुनामा राख्ने कानुनी प्रावधान ल्याएको छ । यिनै कानुनलाई टेकेर प्रशासनले कारवाही समेत गर्दै आएको छ । खास गरेर होली पर्व आउनु अगाडि देखिने लोला, पिचकरीबाट पानी छ्याप्ने, खास गरेर बढी मात्रामा युवती, महिला लक्षित यस्ता गतिविधि नियन्त्रणका लागि प्रशासन सक्रियतापूर्वक लागेको छ । रंगमा अनेकन प्रकारका विकारयुक्त वस्तु मिसाएर प्रयोग गर्ने, रङमा खुर्सानीको धुलो हाल्ने, फोहोर पानीले छ्याप्ने जस्ता अनैतिक र अमानवीय कार्यलाई रोक्न प्रशासन कडाईका साथ उत्रिँदै आएको छ । र त्यो क्रम यस अझ कडाईका साथ लागु गरिने जिल्ला प्रशासनले जनाएको छ ।
हर्षोल्लासपूर्वक एक अर्कामा रंगसँग खेलेर एक आपसमा शुभकामना साटासाट गर्ने प्रचचलन होलीको विशेषता रहेको छ । होलीका दिन अतिआवश्यक काम परेर बाहिर निस्किएका जो कोहीलाई सहमतीमा नै रंग दल्नु वेश हुन्छ । कतिपय शोकको घडीमा रहेकाले रंग लगाउन हुँदैन । त्यसप्रति पनि सजक हुनुपर्ने देखिन्छ ।
होलीको अर्को विकृति भनेको भाङ र गाजाँको नशामा खेलिने होलीले स्वास्थ्यमा असर त छदैछ अकल्पनिय दुर्घटना पनि निम्त्याउन सक्छ । त्यसैले यसप्रति सजक हुन आवश्यक छ । त्यसैले स्वच्छ र स्वस्थ भएर होलीमा समाहित हुनु नै राम्रो हुनेछ ।
होली पर्वको अघिल्लो रात होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एक अर्कामाथि फाल्ने चलन छ । बालबालिकादेखि किशोर किशोरी, युवायुवती र बृद्धबृद्धा सबै यो पर्वमा झुम्ने र एक अर्काको दुःख र द्वेष भुल्ने गर्दछन् । होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन।’ यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रंिगएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रंंगीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमंगका साथ मनाइने रंगीन पर्वको रूपमा लिइन्छ ।
यो पर्वको महिमा छुट्टै छ । पौराणिक भनाई अनुसार प्राचीन समयमा नास्तिक हिरण्यकस्यपु नामक राक्षसले भगवान विष्णुभक्त आफ्नै छोरा प्रल्हादलाई मार्न हिरण्यकस्यपुले छोरालाई अग्नि कुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन) जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रल्हादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् । तर प्रल्हादलाई केही भएन ।
होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ भने अर्को एक प्रसंग अनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो । यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । भक्तपुरमा चिर स्वायगू अर्थात् लिंग घुमाएपछि फागु पर्व सुरूवात भएको मानिन्छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो