मृत घोषणा गरेर घर फर्काएपछि जीवित भएको भन्ने समाचारप्रति मेट्रो न्युरो ट्रमाद्धारा खण्डन

फाष्ट मिडिया नेपाल संवाददाता

सुनसरीको इनरुवा–३ का ४५ वर्षीय प्रताव सदा मुसहरलाई अस्पतालले मृत घोषणा गरेर घर फर्काएपछि जीवित भएको भन्ने समाचारप्रति अस्पताल प्रशासनले खण्डन गरेको छ ।

विराटनगरस्थित मेट्रो न्युरो ट्रमा एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा।लिका प्रमुख कार्यकारी अधिकृत सन्तोषमेहताले गलत समाचार प्रकाशित भएको गुनासो गरेका हुन् ।

उनले आफन्तको जिम्माजमानीमा आइतबार घर पठाइएका सदाको जीवन जोखिममा रहेपनि खर्च अभावमा परिवारले लगेको बताएका छन् । उनले अस्पतालको उद्घाटन हुनु अगाडी नै गलत समाचार प्रकाशन भएको बताएका हुन् । समाचारका बारेमा मंगलबार पत्रकार सम्मेलन गरेर उनले सत्यतथ्य नबुझि प्रकाशित हुनु गलत रहेको बताएका हुन् ।

सोही घटनाले सामाजिक सञ्जाल र मिडिया तातेको छ । घटनाको विवरण बुझ्दा सदा परिवारले छातीमा समस्या भएपछि प्रतापलाई उपचारका लागि सुरुमा इनरुवा अस्पताल पुर्‍याएका थिए । अस्पतालले आफूकहाँ उपचार सम्भव नहुने बताएपछि उनलाई शनिबार विराटनगरको मेट्रो न्युरो अस्पताल पुर्‍याइएको थियो ।

सुरुमा अस्पतालले प्रतापको छातीमा समस्यासँगै मेनेन्जाइटिसका कारण अवस्था नाजुक रहेको भन्दै आइसीयूमा राखेर उपचार सुरु गर्‍यो । बिरामीको अवस्था जटिल बन्दै गएपछि अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने सदाका आफन्तलाई बतायो । तर बिरामीका परिवारले भेन्टिलेटरमा राखेर उपचार नगर्ने बरु घर नै लैजाने भन्न थाले । कान्तिपुरलाई प्राप्त कागजातमा प्रतापकी पत्नी सीताकुमारीले बिरामीको मृत्यु भएमा आफैं जिम्मेवार हुनेछु भन्ने कागजमा औंठाछाप र सही गरेर बिरामीलाई घर लैजान प्रक्रिया थालेको देखिन्छ । अस्पतालभित्रको सीसीटिभी फुटेजमा पनि बिरामीलाई आइसीयूबाट स्ट्रेचरमा राखेर निकालेको देखिन्छ । अस्पतालका सञ्चालक सन्तोष मेहताले कागज गरेर परिवारले बिरामी लिएर गएको बताएका छन् ।

आइतबार दिउँसो सीताकुमारीले ५० हजार रुपैयाँ अस्पताललाई बुझाएर जीवितै अवस्थाका प्रतापलाई लिएर घर हिँडिन् । घर नपुग्दै बाटैबाट उनीहरूले आफन्ती र गाउँलेलाई फोन गरेर सदाको अन्त्येष्टिका लागि आवश्यक सामाग्री तयार गर्न भने । छरछिमेकीले भने अनुसार घाट लैजाने खट, कपडा र दाउरा तयार पारे । प्रतापलाई खटमा सुताएर कपडाले छोपेर जुइनाले बाँध्न सुरु गरियो । तब उनले पुलुक्क आँखा हेरे । अनि भेला भएका आफन्त र छिमेकमा कोलाहल मच्चियो । वडाध्यक्ष रमेश श्रेष्ठले त्यही बेला स्थानीय पहलबहादुर कटुवालले भिडियो खिचेर सामाजिक सञ्जालमा राखेको बताइएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया