नदीजन्य पदार्थको उत्खननमा सरकारको रोक

खगेन्द्र कार्की

इटहरी/ सरकारले नदीजन्य पदार्थको उत्खनन गर्न रोक लगाएको छ । असार १ गतेदेखि लागू हुने कानुनी व्यवस्थाअनुसार देशभरका वन क्षेत्रमा रुख कटान, मुछान, काठ तथा वन पैदावार संकलन, नदी तथा खोलाबाट ढुंगा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थको उत्खनन र संकलनमा रोक लाग्ने भएको छ । 

वनसम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार मनसुन सुरु हुने असार १ गतेदेखि भदौ मसान्तसम्म वन क्षेत्रभित्र यस्ता गतिविधिमा मौसमी प्रतिबन्ध लगाइने व्यवस्था छ । यसको उद्देश्य वर्षायाममा वन तथा जैविक विविधताको संरक्षण गर्नु, प्राकृतिक पुनरुत्पादनलाई प्रोत्साहन गर्नु, भूक्षय तथा पहिरोको जोखिम कम गर्नु र वनजन्य स्रोतको दिगो यवस्थापन गर्नु हो ।

यस अवधिमा स्वीकृत कार्ययोजना भएका वनमा समेत सामान्यतया रुख कटान, मुछान र काठ संकलनका काम स्थगित गरिन्छ। यस्तै वन क्षेत्रभित्र वा वनसँग सम्बन्धित नदी तथा खोलामा ढुंगा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थको उत्खनन तथा संकलनमा पनि रोक लाग्छ ।

वन कार्यालयहरूले मनसुन अवधिमा अनधिकृत कटानी, चोरी निकासी तथा अवैध उत्खनन हुन नदिन निगरानी र अनुगमनलाई थप प्रभावकारी बनाउने गरेका छन् । सामुदायिक वन उपभोक्ता समूह, वन उपभोक्ता समिति तथा स्थानीय तहलाई पनि कानुनी व्यवस्थाको पालना गराउन आग्रह गरिएको छ । प्रतिबन्धको उल्लङ्घन गरी वन पैदावार कटानी, संकलन वा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार गरेमा प्रचलित वनसम्बन्धी कानुनअनुसार जफत, जरिवाना तथा कसुरको प्रकृतिअनुसार अन्य कानुनी कारबाही हुने बताइएको छ ।

स्थानीय तहले लगाए रोक

मोरङको उर्लाबारी नगरपालिकाले आफ्नो नगरक्षेत्र भित्र रहेका खोलाहरूबाट नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्री वितरण कार्य पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै यसको जानकारी दिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभय कुमार गुप्ताद्वारा जारी सूचना अनुसार, नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ बमोजिम मिति २०८३ असार १ गतेदेखि अर्को सूचना नभएसम्मका लागि उत्खनन कार्य बन्द गरिएको छ ।

उर्लाबारी नगरक्षेत्र भई बहने मावा खोला,बक्राहा खोला,सोल्टी खोला,सुनझोडा खोला,नुनसरी खोला,मिक्लु खोलाहरूमा नदीजन्य पदार्थ उत्खनन, संकलन र ढुवानी गर्न नपाइने उल्लेख गरिएको छ । नगरपालिकाले यो सूचनाको बर्खिलाप गरी कोही कसैले अनियमित तवरले नदीजन्य पदार्थ उत्खनन, संकलन र ढुवानी गरे वा गराएमा नियमानुसार जरिवाना तथा कडा कारबाही गरिने जनाएको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया