मूलधारको मिडियालाई बचाउन आचारसंहिताको नविनतम प्रयोगबाट सम्भव हुने पत्रकार डा. विष्टको भनाई

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । पत्रकार स्व. चन्द्र न्यौपानेको नाममा स्थापित ‘चन्द्र न्यौपाने मेमोरियल ट्रष्ट’ले एक दिने विचार

 गोष्ठीको आयोजना शुक्रबार सम्पन्न गरेको छ । 

नेपाल पत्रकार महसंघका पूर्व अध्यक्ष तथा वर्तमान केन्द्रीय सल्लाहकार डा. महेन्द्र विष्टको प्रमुख आतिथ्यतामा आयोजित ‘पत्रकार आचारसंहिताको नविनतम आयाम र कार्यान्वयनको अवस्था’ विषयक गोष्ठी सम्पन्न भएको हो । ट्रष्ट अध्यक्ष अनिता गुरागाईको अध्यक्षतामा आयोजित सो गोष्ठीमा महासंघका केन्द्रीय सदस्य अमर खड्का, महासंघकै सुनसरी शाखा सचिव ध्रुव ढकाल, अग्रज पत्रकार यज्ञ शर्मा, कृष्णविनोद लम्साल, विभिन्न पत्रकार संघसंगठनका प्रतिनिधिहरुलगायतको आतिथ्यता रहेको थियो । सबै खालका मिडियाबाट पत्रकारको बाक्लो उपस्थिति रहेको सो कार्यक्रम नन्द न्यौपानेले सञ्चालन गरेका थिए भने अग्रज पत्रकार शर्माले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका डा. विष्टले मिडियाबाट उत्पीडितको आवाजलाई प्रशारणमा ढिला गर्न नहुने उक्त गोष्ठीमा प्रस्तुति दिँदै बताएका छन् । 

उनले मिडिया र वा संचारमाध्यमबाट प्रसारण भरे गरौंला, भोलि गरौंला भन्ने सोचाई राख्न नहुने बताएका हुन् । 

उनले सामाजिक संजालको दुरुपयोगले मुलधारको पत्रकारिता संकटमा पर्दै गएकोले त्यस्तो संकटबाट बच्न विष्टले मिडियामा एजेण्डा सेटिङ्ग गरि समाजमा सकरात्मक तरंग पैदा गर्नु पत्रकारको दायित्व भएको बताए । उनले भने–‘ पत्रकारले समाजलाई आशावादी हुने आधार निर्माण गर्नुपर्छ ।’ 

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवम् नेपाल टेलिभिजनका पूर्व कार्यकारी अध्यक्षसमेत रहिसकेका विष्टले पत्रकारले पेशागत मर्यादा कायम राख्न आचारसंहिता पालन गर्नुपर्नेमा जोड दिए । पत्रकारले स्वनियम लागू गरि पत्रकारिताको विश्वासनीयता बढाउनु पर्ने विष्टको सुझाव छ ।

कार्यक्रममा पत्रकार सुवीद गुरागाईंले मौजुदा आचारसंहिताले पत्रकारलाई आचारसंहिता पालना गर्न जागरण पैदा नगरेकोले यसको परिमार्जनको आवश्यकतामा जोड दिए । त्यसैगरि, पत्रकार रुमा रिजालले समयअनुसार विषयवस्तु सम्प्रेषणको शैलीलाई परिवर्तन गर्नुपर्ने बताइन् । 

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य अमर खड्का, महासंघकै सुनसरी शाखा सचिव ध्रुव ढकाल, अग्रज पत्रकार यज्ञ शर्मा, कृष्णविनोद लम्साललगायतले बोलेका थिए ।

स्व. न्यौपानेको कोरोना संक्रमणबाट ५० वर्षको अल्पआयुमा उपचारका क्रममा निधन भएको थियो । रेडियो आन्दोलनसहित समग्र पत्रकारिताको आन्दोलनमा अग्रणी भूमिका खेलेका स्व्. न्यौपानेसप्तकोशी एफएम इटहरीका तत्कालिन स्टेशन म्यानेजरको जिम्मेवारीमा थिए । ब्रोडकास्ट एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष, विज्ञापन बोर्डका सदस्य तथा नेपाल पत्रकार महासंघमा आवद्ध एसोसिएट संस्था पर्यटन पत्रकार मञ्चका सदस्य समेत रहेका स्व. न्यौपानेको योगदानलाई सम्झना गर्दै पत्रकारिताकै क्षेत्रबाट सामाजिक अभियानमा सक्रियता देखाउन उक्त ट्रष्टको स्थापना भएको हो ।  

 


खगेन्द्र कार्की
प्रतिक्रिया