एचआइभी÷एड्स सङ्क्रमित बालबालिकाको संरक्षणमा तीन तहकै सरकार जिम्मेवार रहनुपर्ने धारणा

खगेन्द्र कार्की

धरान । नेपालमा एचआइभी सङ्क्रमित बालबालिकाको सङ्ख्या २ सय ८४ पुगेको छ । 

धरानमा बसेको महासङ्घको कोशी प्रदेश समन्वय बैठकमा एचआइभी एड्स राष्ट्रिय महासङ्घका अध्यक्ष खगेन्द्र खड्काले नेपालमा २८४ जना एचआइभी सङ्क्रमित बालबालिका भएको बताएका हुन् । खड्काले उनीहरूको संरक्षण, उपचार, शिक्षासहित छुट्टै संरक्षण गृहको व्यवस्था गर्नुपर्ने औंल्याए । 

नेपालमा रहेका २६ हजार बढी एचआइभी÷एड्स सङ्क्रमितहरू आम नागरिकले पाउँदै आएको उपचार, अवसर र सुविधाबाट वञ्चित भएको अवस्थामा बालबालिकाको स्थिति कस्तो होला ? उनले प्रश्न गरे ।

संक्रमितको पहिचान खुलेका मध्ये २४ हजार, २३७ जनाले जीवनरक्षाको औषधी एआरभी पाइरहेका बताउँदै उनले दातृसंस्थाको परियोजना सकिए यसको निरन्तरता सुनिश्चित गर्न पनि राज्य गम्भीर हुनुपर्नेमा जोड दिए ।

महासङ्घका राष्ट्रिय कार्यक्रम संयोजक शिवु गिरीले महासङ्घको गतिविधि सहित रणनीतिक प्रतिवेदन प्रस्तुत गर्दै भने ‘सङ्क्रमित बालबालिकाको जीवन जोखिममा छ नै, सङ्क्रमित अभिभावकको एचआइभी मुक्त बालबालिका पनि सामाजिक भेदभावमा परेका छन् ।’

महासङ्घको रणनीतिक प्रतिवेदनमा सङ्क्रमितहरूको गुणस्तरीय जीवन लागि अबका दिनमा जन वकालत, कानुन निर्माण र मानवअधिकार उपभोगका विषयमा केन्द्रित रही अघि बढ्नु पर्ने कार्यक्रमहरू निर्धारित गरिएका छन् ।

गैरसरकारी क्षेत्रबाट सङ्क्रमितका लागि गरिँदै आएका कार्यहरूका दातृसंस्था घट्दै गएकोले राज्यको सरकारी बजेटमा नीतिगत पहुँच बढाउनु पर्ने कुरामा जोड दिइएको छ । विशेष गरी सङ्क्रमितहरूको उपचार, आर्थिक अवस्था कमजोर भएका सङ्क्रमितहरूका लागि आत्मनिर्भरताका लागि स्थानीय सरकारको बजेटमा पहुँच आवश्यक भएको कुरामा जोड दिइएको छ ।

बैठकमा सहभागी जिल्ला स्वास्थ्य कार्यालय, एआइभी सङ्क्रमित क्षेत्रमा कार्यरत अभियन्ता, सङ्क्रमित समूहका अगुवाले एचआइभी सङ्क्रमितको हकहितका कार्यक्रम स्थानीय बजेट, कार्यक्रमको प्राथमिकतामा नपरेकाले काम गर्न कठिनाइ भएको उदाहरणहरू प्रस्तुत गरेका थिए ।

बैठकको सहजीकरण धरान पोजेटिभका रोमन राईले गरेका थिए । पत्रकार महासङ्घ सुनसरीका सभापति जनकऋषि राई, अग्रज पत्रकारद्वय हर्ष सुब्बा र भीमज्वाला राईले एचआइभी सङ्क्रमित भएको खुलेर समाजमा घुमिल गर्न समुदायमा केन्द्रित संस्था, समूहमा कार्य गर्न जरुरी भएको सुझाव दिए ।

कपुुरी न्युजको सहयोगमा


खगेन्द्र कार्की
प्रतिक्रिया