२०४७ सालमा तत्कालीन श्री पञ्चायत माध्यमिक विद्यालय गोठगाउँबाट एसएलसी उत्तीर्ण भएपछि मेरो शैक्षिक यात्रा इटहरीतर्फ मोडियो । प्रस्तावित जनता क्याम्पसमा प्रविणता प्रमाणपत्र तह (आइए) अध्ययनका लागि पुगेको त्यो समय नेपाली राजनीतिमा नयाँ उत्साह र परिवर्तनको लहर चलिरहेको समय थियो । प्रजातन्त्र पुनःस्थापनापछि विद्यार्थी राजनीति निकै सक्रिय थियो । कलेजमा नेविसंघ, अनेरास्ववियुलगायत विभिन्न विद्यार्थी संगठनबीच संगठन विस्तार र नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा चलिरहेको हुन्थ्यो । रोहित प्रसाईजस्ता सिनियर विद्यार्थी नेताहरू कलेज राजनीतिमा सक्रिय थिए । धेरै साथीहरूले मलाई पनि कुनै न कुनै संगठनमा लाग्न आग्रह गर्थे । तर म राजनीतिभन्दा पढाइ र पारिवारिक जिम्मेवारीप्रति बढी केन्द्रित थिएँ ।
भोजपुर प्याउलीको सामान्य परिवारबाट आएको म, गोठगाउँमा मामाघर बसेर पढ्दै हुर्किएको विद्यार्थी थिएँ । आर्थिक अवस्था सामान्य थियो । त्यसैले राजनीतिमा लाग्दा थप समस्या निम्तिने डर थियो । मैले भविष्यको सपना पढाइमार्फत देखेको थिएँ, राजनीतिमार्फत होइन । यही कारण कुनै दलसम्बद्ध विद्यार्थी संगठनको सदस्यता लिने सोच कहिल्यै आएन । तर राजनीति नजिकबाट हेर्ने, सुन्ने र बुझ्ने चासो भने बढ्दै गइरहेको थियो ।
त्यही समयका एक असाधारण नेता थिए– मदन भण्डारी । उनको भाषण सुन्न विद्यार्थीहरू कलेज नै रित्त्याएर जाने गर्थे । अरू नेताभन्दा उनको शैली फरक थियो । भाषणमा तर्क, व्यंग्य, आत्मविश्वास र स्पष्ट दृष्टिकोण हुन्थ्यो । विशेष गरी २०४६ सालअघि नै उनले राजालाई राजनीति गर्ने हो भने श्रीपेच फुकालेर जनतामाझ आउन चुनौती दिएका कुरा युवापुस्ताका लागि साहसिक लाग्थे । इटहरीमा हुने उनका कार्यक्रमहरूमा म पनि सहभागी हुन्थेँ । लहैलहैमा पुगेको त्यो आकर्षण पछि गहिरो प्रभावमा बदलियो ।
२०४८ सालतिर इटहरी खेलमैदानमा भएको एउटा कार्यक्रममा म अगाडिको लाइनमै बसेर उनको भाषण सुनिरहेको थिएँ । त्यतिबेला पत्रकारिता वा राजनीतिक जीवनबारे कुनै कल्पना थिएन । तर मदन भण्डारीको त्यो भाषणले नेतृत्व भनेको के हो भन्ने गहिरो प्रभाव छोड्यो । उनले भाषणकै क्रममा सरकारी कर्मचारी र शिक्षकहरूलाई लक्षित गर्दै भनेका थिए– “काम छोडेर यहाँ भाषण सुन्न आउने शिक्षक र कर्मचारीको नाम टिपोट गरिदिनुस्, म कारबाही गर्छु ।” त्यो अभिव्यक्तिले उपस्थित धेरैलाई झस्काएको थियो । साँच्चै, अगाडि बसेका केही शिक्षक र कर्मचारी त्यहाँबाट बाहिरिँदै गरेको दृश्य अझै स्मृतिमा ताजै छ । त्यो जिम्मेवारीबोध, त्यो दृढता र त्यो नेतृत्व क्षमता सामान्य थिएन ।
पछि स्नातक अध्ययनका लागि काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस पुगेँ । त्यहाँ पनि मदन भण्डारीका भाषणहरू सुनिरहेँ । उनी युवामा आशा जगाउने नेता थिए । परिवर्तन, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनलाई नेपाली समाजको यथार्थसँग जोडेर प्रस्तुत गर्ने उनको क्षमता अद्भुत थियो । त्यतिबेला म काठमाडौंका गल्लीहरूमा जागिर खोज्दै हिँड्थेँ । आर्थिक संघर्ष चर्किंदै थियो । २०५० सालतिर “सुरुची साप्ताहिक” मा कार्यालय सहायकका रूपमा काम गर्ने अवसर पाएपछि पत्रकारितासँग परिचय भयो । त्यही समयमा देशलाई नयाँ ऊर्जा दिने नेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित दासढुंगामा रहस्यमय दुर्घटनामा परे ।
२०५० साल जेठ ३ गतेको त्यो घटना नेपाली कम्युनिस्ट आन्दोलनकै सबैभन्दा रहस्यमय र पीडादायी अध्याय बन्यो । पोखराबाट चितवन हुँदै काठमाडौं फर्कने क्रममा उनीहरू सवार जीप दासढुंगामा दुर्घटनाग्रस्त भएर त्रिशूली नदीमा खसेको भनियो । आश्रितको शव घटनास्थल नजिकै भेटियो, तर मदन भण्डारीको शव चार दिनपछि नारायणी किनारमा भेटियो । सबैभन्दा आश्चर्यजनक कुरा त चालक अमर लामा सकुशल बाँचे । पछि २०६० सालमा उनै चालकको कीर्तिपुरमा गोली हानी हत्या गरियो । यी घटनाले दुर्घटनाप्रति गम्भीर शंका जन्माउनु स्वाभाविक थियो ।
तीन दशक बितिसक्दा पनि दासढुंगा घटना दुर्घटना थियो कि नियोजित हत्या भन्ने निष्कर्ष राज्यले दिन सकेको छैन । अझ विडम्बना त के छ भने, मदन भण्डारीकै सिद्धान्त “जनताको बहुदलीय जनवाद” लाई एमालेले आफ्नो राजनीतिक मार्गदर्शक बनाइरहँदा पनि उनको मृत्युको सत्य खोज्ने इमानदार प्रयास देखिएन । यही अवधिमा एमाले पाँचपटक सरकारको नेतृत्वमा पुग्यो । केपी शर्मा ओली, वामदेव गौतम, भीम रावल, विष्णु पौडेल, खगराज अधिकारीदेखि रामबहादुर थापा ‘बादल’ सम्म गृहमन्त्री बने । मदन भण्डारीकी पत्नी विद्या भण्डारी दुई कार्यकाल राष्ट्रपति भइन् । तर दासढुंगा प्रकरणको सत्य पत्ता लगाउने राजनीतिक इच्छाशक्ति भने कहिल्यै देखिएन ।
एक समय एमालेले नै “सत्तामा पुगेको २४ घण्टाभित्र दासढुंगा घटनाको सत्य बाहिर ल्याउँछौँ” भनेको थियो । २०५१ मा मनमोहन अधिकारी नेतृत्वमा एमाले सरकारमा पुग्यो, केपी ओली गृहमन्त्री भए । तर त्यो प्रतिबद्धता केवल भाषणमै सीमित रह्यो । ३० वर्षसम्म पनि घटनाको यथार्थ सार्वजनिक हुन सकेन । यसले राजनीतिक नेतृत्वप्रतिको नैतिक प्रश्न अझ गहिरो बनाएको छ ।
दासढुंगा घटना केवल दुई नेताको मृत्यु मात्र होइन, नेपाली राजनीतिक इतिहासको संवेदनशील मोड पनि हो । यदि त्यो दुर्घटना थियो भने स्पष्ट रूपमा प्रमाणित गरिनुपर्छ । यदि हत्या थियो भने दोषी सार्वजनिक हुनुपर्छ । तर सत्यलाई निरन्तर धुमिल बनाइँदा जनतामा अविश्वास बढ्नु स्वाभाविक हो । अझ एमालेभित्रैका विभिन्न गुट र शक्ति संघर्षका कारण पनि यो घटनामाथि शंका उब्जिएको पाइन्छ ।
आजको पुस्ताले इतिहासलाई केवल श्रद्धाञ्जलीको रूपमा होइन, सत्यको खोजको रूपमा हेर्न आवश्यक छ । मदन भण्डारी र जीवराज आश्रितको योगदानलाई सम्मान गर्ने वास्तविक उपाय भनेकै दासढुंगा घटनाको निष्पक्ष छानबिन हो । लोकतन्त्रमा कुनै पनि रहस्यमय राजनीतिक घटनालाई दबाएर राख्नु भविष्यका लागि खतरनाक अभ्यास हो ।
तीन दशक बितिसक्दा पनि सत्यको प्रतीक्षा बाँकी छ । तर आशा अझै मरेको छैन । अबको युवा पुस्ताले सत्ता र स्वार्थभन्दा माथि उठेर यस्ता घटनाको निष्पक्ष अनुसन्धान गर्न दबाब दिन सके मात्रै इतिहासप्रतिको न्याय सम्भव हुनेछ । मदन भण्डारीलाई सम्झनु भनेको केवल फूल चढाउनु होइन, उनले देखाएको राजनीतिक इमानदारी र सत्यप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्नु पनि हो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो