विराटनगरमा तीन दिने साहित्य महोत्सव सुरु

खगेन्द्र कार्की

विराटनगर । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा आजदेखि विराटनगरमा तीनदिने साहित्य महोत्सव सुरु भएको छ । 

महोत्सवको पूर्व प्रदेश प्रमुख समेत रहेका वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले उद्घाटन गरे । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल र भारतका साहित्यकारहरुले सिर्जना वाचनसँगै विभिन्न विषयमा कार्य पत्र प्रस्तुत र कृतिहरु विमोचन गरिनेछ । कार्यक्रमलाई सम्बोधन गर्दैै तुम्वाहाङले महोत्सवले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने धारणा राखे । उनले नेपाल र भारतबीच धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिए । समाज रुपान्तरणमा साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।  विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले भाषा, साहित्य, कला र संस्कृतिको विकास र सम्वद्र्धनमा महानगरपालिका लागि परेको बताए । उनले भौतिक विकासले मात्रै समाजको समग्र विकास नहुने प्रस्ट पारे । मेयर कोइरालाले विराटनगरलाई कोशीको प्रदेश मात्रै नभएर साहित्यिक राजधानीसमेत बनाउन आफू लागिपर्ने उल्लेख गरे । अग्रज साहित्यकार प्राज्ञ दधिराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीले भाषा र साहित्यका माध्यमबाट विराटनगरलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सकिने बताइन् ।

कार्यक्रममा प्राज्ञ विवश पोखरेल, अग्रज साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीका अध्यक्ष डा. विजय पण्डित, कार्यक्रम संयोजक देवी पन्थी, साहित्यकार समेत रहेका विराटनगर महानगरपालिकाका प्रेस सल्लाहकार मीनकुमार नवोदित, सार्क कल्चरल सोसाइटी नेपालका अध्यक्ष राजेन्द्र गुरागाईं, साहित्यकार गोकुल अधिकारीलगायतले नेपाल–भारत साहित्य महोत्सवले दुई देशबीच सम्बन्धलाई थप बलियो बनाउने विचार राखे । विराटनगर ठाकुरवाडी रोडस्थित रामजानकी सेवा सदनमा सुरु महोत्सवमा भारतबाट ६० र नेपालबाट २ सयभन्दा बढी साहित्यकारको सहभागिता रहेको आयोजक समितिले जनाएको छ । विराटनगर घोषणापत्र जारी गर्दै चैत ५ गते महोत्सव समापन हुनेछ । विराटनगरमा जारी महोत्सव सातौं हो ।  यसअघि मेरठ अकाडेमीले वीरगञ्ज र काठमाडौंमा नेपाल–भारत साहित्य महोत्सव गरेको थियो । नेपालमा चार र भारतमा तीनपटक महोत्सव भइसकेको छ ।। 


खगेन्द्र कार्की
प्रतिक्रिया