इटहरीको जनता बहुमुखी क्याम्पसमा फेरी राजनीतिक गठबन्धन कै बर्चस्व कायम

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल न्युज डेक्स

इटहरी । इटहरी जनता बहुमुखी क्याम्पसमा शनिबार भएको निर्वाचनमा राजनीतिक गठबन्धनकै बर्चस्व कायम भएको छ । शनिबार सम्पन्न क्याम्पस व्यवस्थापन समितिको निर्वचनमा केही स्वतन्त्रसहित गठबन्धन उम्मेदवारहरुको दबदबा कायम रहेको देखिएको हो । 

२३ जनाको क्याम्पस व्यवस्थापन समितिमा १३ जनाका लागि भएको निर्वाचनमा झण्डै ३ दर्जन उम्मेदवार मैदानमा उत्रिएका थिए । जसमा ४ मनोनित र बाँकी क्याम्पस प्रमुख, स्ववियु सभापति, प्राध्यापक संघ सभापति, सम्बन्धित वडाध्यक्ष, नगर प्रमुख र त्रिविले नियुक्त गरेको प्राध्यापक सदस्य सो समितिमा रहनेछन् ।

इटहरीका ६ वटा राजनीतिक दलहरुको संयुक्त सहमतीमा १३ जनाको प्यानल बनेको छ । १३ जनाको लागि विभिन्न राजनीतिक दल मध्ये नेतृत्व लिने कांग्रेसले  विकास केसी, शिवराज दाहाल, तीर्थ पराजुली, शेखर लुइटेल र अम्बिका श्रेष्ठलाई उम्मेदवार बनाएको थियो भने एमालेबाट  रेवती घिमिरे, ईश्वर भट्टराई, दिनेश भट्टराई र भैरव प्रसाद सापकोटाको उम्मेदवारी परेको थियो । त्यस्तै राप्रपाबाट युगपृय निरौला र विकल रेग्मी, माओवादी केन्द्रबाट मुक्ति रिजाल र रास्वपाबाट मात्रिका रेग्मीले उम्मेदवारी दर्ता गराएका छन् । अन्य १९ जनाले स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये स्वतन्त्ररुपले चुनावमा उभिएकाहरुदेखि पार्टीबाट असन्तुष्टहरुसमेत छन् । तर अन्तिम अवस्थामा विरोधका बाबजुद रास्वपाले भने उम्मेदवारी फिर्ता लिएको थियो । त्यसो त स्वतन्त्र उम्मेदवारी दिनेको ताँती पनि लामै थियो । ठमनाथ लम्साल, नारायण सुवेदी, टंक खनाल, मात्रिका आचार्य, पेशल लम्साल, उर्मिला कटुवाल, गणेश बुढाथोकी, रमेश खत्री, कमल तिम्सिना लगायतले स्वतन्त्र ढंगले उम्मेदवारी दिएका थिए । केही स्वतन्त्रसहित त्यही गठबन्धनकै बर्चस्व कायम भएको छ ।  

१३ पदका लागि भएको सो निर्वाचनमा कूल ७३० मतदातामध्ये ६०४ मत खसेको थियो । जसमध्ये शेखर लुइँटेल ४०८ मत प्राप्त गर्दै पहिलो स्थान प्राप्त गरे ।

यस्तै, कुलबहादुर कार्की (राजकुमार) ३९९ मत, विकल रेग्मी  ३६५ मत, विकास केसी ३५२ मत, अम्बिका श्रेष्ठ ३४६ मत, तीर्थराज पराजुली ३४१ मत, युगप्रिय निरौलाले ३३६ मत प्राप्त गरे ।

यसैगरी, गङ्गा प्रसाद भट्टराई ३०३ मत, शिवराज दाहाल २९९ मत, ईश्वर भट्टराई २९६, उर्मिलादेवी कटुवाल २८२ मत, दिनेशकुमार भट्टराई २७२ मत र रेवतीप्रसाद घिमिरेले २७१ मत प्राप्त गरेर सो क्याम्पसको व्यवस्थापन समिति चल्ने पक्का भएको छ । 


खगेन्द्र कार्की
प्रतिक्रिया