काठमाडौं । नेपालमा दुईवटा सिंगिङ रियालिटी शो ‘नेपाल आइडल’ र ‘दि भ्वाइस अफ नेपाल’ चलिरहेका बेला भारतमा नेपाली कलाको प्रशंसा भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली सांगीतिक समूहकी गायिका सरस्वती खत्रीको स्वरको प्रशंसा गरे । मोदीले खत्रीको आवाजलाई सुमधुर भन्दै उनको आवाज सुन्दा आफ्नो नेपाल भ्रमणको स्मृति ताजा भएको समेत बताए ।
त्यसअघि शनिबार नेपाली गायिका मेनुका पौडेलको स्वरको भारतीय संगीत उद्योगका हस्तीहरुले प्रशंसा मात्रै गरेनन्, आफूहरु नतमस्तक भएको पनि बताए । संगीतकार शेखर रबजानी, सोना मोहपत्रा र वाजिद खानले मेनुकाको स्वरको मुक्त कण्ठले प्रशंसा गरे । भारतीय सांगीतिक रियालिटी शो ‘सारेगामप’का निर्णायक रबजानी, मोहपत्रा र खानले मेनुकाको स्वरको प्रशंसा मात्रै गरेनन् उनको स्वरको जज गर्ने हैंसियत नभएको पनि बताए ।
मेनुकाले लता मंगेशकरको आवाजमा रहेको ‘जाने क्या बात है...’ बोलको गीत गाएकी थिइन् । उनले गीत गाउँदा शोमा उपस्थित जजसँगै जुरी मेम्बरले आँशु मात्रै झारेनन् जज तथा उपस्थित सबैले स्ट्याण्डिङ ओभिसनसमेत दिएका थिए ।
नेपालमा पहिलोपटक अडिसन लिएको गायन रियालिटी शो ‘सारेगमप’ मा मेनुका अडिसन राउन्डबाट छनोट भइन् । उक्त रियालिटी शो जी टिभीबाट प्रसारण हुँदै आएको छ ।
उनले ‘नेपाल आइडल’को मञ्चलाई छोड्दै गर्दा भनेकी थिइन्,–“म्युजिक भनेको मानिसको आँखाले देख्ने चिज होइन, यसलाई मस्तिष्क र मनबाटै लिनुपर्छ ।”
उनी सेतो छडीको सहारामा नेपाल आइडलको मञ्चमा आइपुगेकी थिइन् । त्यही सेतै छडीकै सहारामा उनी ‘नेपाल आइडल’बाट विदा भएपछि घर पुगिन् । उनले कार्यक्रमको एउटा श्रृखंलामा भनेकी थिइन्, “जती जनाले मलाई भोट गर्नुभयो, धन्यवाद तर मलाई भोट आएको छैन भने पनि म यो स्टेजबाट हाँसी हाँसी जान्छु ।
नभन्दै उत्कृष्ट एघारमा आइपुग्दा उनलाई प्रतिस्पर्धीमध्ये सबैभन्दा कम भोट आयो । उनले आफूलाई चिनाउने ‘नेपाल आइडल’को मञ्चलाई छोड्नै पर्ने भयो । उनले ‘तिम्रो जस्तो मुटु मेरो पनि...’ बोलको गीत गाएर नेपाल आइडलबाट विदा भइन् । त्यो क्षण उनका प्रतिस्पर्धी साथी र जजहरुका आँखा रसाएको प्रस्टै देखिन्थ्यो । तर, उनमा त्यो पीडा कमै देखिएको थियो । सायद संगीतमा प्यासन भएकाहरु हार्न जान्दैनन्, जवरजस्त हुन्छन् । छोड्दै छोड्दैनन् ।
उनले हिम्मत हारिनन् । संगीतका सुरहरुसँग आफूलाई मिसाइरहिन् । भारतीय सिंगिङ रियालिटी शो मध्येकै प्रतिष्ठित मानिने ‘सारेगमप’ मा उनी जाने तयारी थालिन् । कोलकाता अथवा मुम्बईबाट अडिसन दिने मेनुकाले तयारी गरिरेका बेला पहिलो पटक अडिसन नेपालबाटै दिन पाइने भएपछि उनलाई थप सहज भयो । उनले प्रि–अडिसनका लागि भिडियो पठाइन् । लेवल वनको अडिसनमा उनी छनोट भएपछि लेवल टुको अडिसन लिन ‘सारेगमप’ काठमाडौं नै आयो । काठमाडौं अडिसन पनि पार गरेपछि मेनुकालाई ‘सारेगमप’ले लेवल थ्रिको अडिसनका लागि कोलकाता बोलायो । त्यो अडिसनले पनि ग्रिन कार्ड दिएपछि उनलाई अन्ततः दर्शकले जी टिभीमा हेर्न पाए । मेनुकाले हिन्दी गीत गाएर संगीतको कुनै भाषा र भूगोल हुँदैन भन्ने कुरालाई फेरि एकपटक चरितार्थ गरिन् । जुन कुरा ‘सारेगमप’ का निर्णायकले पनि उनको स्वर सुनेपछि प्रशंसा गर्दै भने ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो