इटहरीको स्कुलबाट १४ वर्षीया बालक सुतेकै अवस्थामा मृत फेला, अनुसन्धान जारी

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ४ मा रहेको सेकेन्डरी बोर्डिङ स्कुलको छात्रावासमा बसेर पढ्ने एक बालकको होस्टेलमै निधन भएको छ ।

मृत्यु हुनेमा मोरङको बेलबारी नगरपालिका लालभित्ती घर भई सोही विद्यालयको छात्रावासमा बस्दै आएका कक्षा ८ मा पढ्ने १४ वर्षीय जेनिस श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार आइतबार खाना खाएर सकुशल सुतेका विद्यार्थी सोमबार बिहान मृत अवस्थामा भेटिएपछि विद्यालय प्रशासनले प्रहरीलाई खबर गरेको थियो ।

मुखबाट फिँज आएको र शरीर निलो भएको देख्दा र छात्रावासको अव्यवस्थित कोठा हेर्दा सर्पले टोकेको आशङ्कासमेत गरिएको छ । तर घटनाको प्रकृति, शवको अवस्था, सिसिटिभी फुटेज, उनका साथी तथा होस्टेल प्रशासनको भनाइहरूबाट घटना कसैले गराएको वा हत्या भएको जस्तो नदेखिएको प्रहरीको भनाइ छ । घटनापछि तत्कालै शव पोस्टमार्टमका लागि पठाइएको बताउँदै प्रहरीले पोस्टमार्टम र भिसेरा परीक्षणको रिपोर्ट आएपछि मृत्युको कारण यकिन हुने स्पष्ट पारेको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया