फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । कैलालीको धनगढीमा आयोजित अण्डर १६ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेश च्याम्पियन बनेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजित फाइनल खेलमा वाग्मती प्रदेशलाई ३५ रनले हराउँदै कोशी प्रदेश च्याम्पियन बनेको हो । विजेता बनेसँगै कोशीले ट्रफी र दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता वाग्मतीले ट्रफीसहित १ लाख रुपैयाँ प्राप्त गरेको छ ।
खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै कोशी प्रदेशले वर्षाका कारण घटाइएको २५ ओभरको खेलमा ७ विकेट क्षतिमा १७१ रन बनायो । कोशीका लागि एलिस मण्डलले अर्धशतकीय पारी खेल्दै ५३ रन बनाए । यस्तै सिंवाश बजगाईंले अविजित ३० रन, दिपु भुजेलले २१ रन र आंशीक मगरले २० रन बनाए । वाग्मतीका लागि सुप्रिम हाडा, सार्थक धिताल र अर्थव पौडेलले २/२ विकेट लिए ।
प्रतिउत्तरमा वाग्मती प्रदेशले २४ दशमलव ४ ओभरमा सबै विकेट क्षतिमा १३६ रनमात्रै बनाउन सक्यो । उसका लागि सार्थक धितालले ३३ रन, सुर्यांस कोइराला र रोशन विकले २३/२३ रन बनाए । कोशीका लागि रविन मण्डलले ३ विकेट, सौजन घिमिरे र प्रतिक पोखरेलले २/२ विकेट लिए । फाइनल खेलको प्लेयर अफ द म्याच कोशीका एलिस मण्डल भए । उनले दुई हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका वाग्मती प्रदेशका रोशन विक प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । उनी प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यानसमेत भए । उनले सर्वोकृष्ट खेलाडी भएबापत नगद १५ हजार र उत्कृष्ट ब्याट्सम्यान भएबापत नगद १० हजार प्राप्त गरे । कोशी प्रदेशका कृतिक कामत उत्कृष्ट बलर भए । उनले १० हजार रुपैयाँ पाए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका २४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर १४ सदस्यीय नेपाली यू–१६ टीम बनाइनेछ । नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गरेको हो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ ।
कोशी प्रदेशबाट भव्यताका जीतको शुभकामनासहित गरिएको बिदाई सार्थकता भएकोमा खुशी व्यक्त
राष्ट्रिय स्तरको अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन कोशी प्रदेश क्रिकेट टोलीलाई सुनसरीको दुहवीबाट भव्यताका साथ बिदाई गरिएको थियो । कोशी प्रदेशको ५ जिल्ला सुनसरी, मोरङ, झापा, उदयपुर र इलामको टिमबाट खेलाडी छनौट गरेर उक्त प्रतियोगितामा पठाइएको थियो ।
अण्डर १६ क्रिकेट खेलाडीहरुलाई अन्तर्राष्ट्रिय क्रिकेट एम्पायर शिरिस उपाध्यक्ष, नेपाल क्रिकेट संघ कोशी प्रदेशका सल्लाहकार जीवन दास, नेपाल क्रिकेट संघ कोशी प्रदेश सदस्य एवम् छनौट समितिका संयोजक सुमेस साह, पूर्व खेलाडी आनन्द साह, दिवाकर पौडेल लगायतले फुलमाला, खादा, अबिर लगाई जित्ने गरी खेल खेल्न शुभकामना दिँदै बिदाई गरेका थिए । टिम म्यानेजर नेपाल क्रिकेट संघ कोशी प्रदेशका सदस्य अजय राजवंशी र टिम कोच लाक्पा लामा रहेका थिए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो