पश्चिम एशियाको तनावको छिटा नेपालमा पर्नबाट जोगाउन सतर्क हुने बेला आएको छ । भौगोलिक रुपमा टाढा रहे पनि त्यो भुगोलमा ठुलो संख्यामा नेपालीहरु कामदारको रुपमा रहेका छन् । उनीहरुको वास्तविक अवस्था बुझ्ने, जोखिममा परेकालाई सुरक्षित बनाउने र आवश्यक परे स्वदेश फर्काउने सम्मका काम गर्न सरकारले तदारुकता देखाउने बेला आएको छ ।
पश्चिम एसियामा द्वन्द्व जारी रहँदा सरकारले दूतावासहरूको अनलाइन पोर्टलमा आफ्नो विवरण पेस गरेका ६० हजार नेपालीको घर फिर्ती र सुरक्षाका लागि सम्बन्धित मुलुकका दूतावासहरुलाई नै निर्णय लिन निर्देशन दिएको छ । नेपालीहरूको उद्दार र सहजीकरणका लागि गठित संयन्त्रको बैठकले द्वन्द्वको अवस्था हेरी आवश्यक निर्णय लिन निर्देशन दिएको हो । तर यो बैठक, निर्णय र निर्देशन मात्र काफि छैन । घट्ना भई सके पछि हार गुहार गर्नु भन्दा आँधीको संकेत देखा परि सकेको अवस्थामा आफ्ना नागरिकको सुरक्षाका लागि सरकार गम्भिरतापूर्वक लाग्न आवश्यक छ ।
विश्व समुदायलाई चुनौती दिँदै आई रहेको यो परिस्थितिबाट संकटको सम्भावना देखिइसकेको अवस्थामा त्यसलाई सामना गर्न ठोस तयारी आवश्यक हुन्छ । विगतमा पनि विभिन्न देशमा संकट उत्पन्न हुँदा नेपालीहरू समस्यामा परेपछि मात्र उद्दारको पहल भएको उदाहरणहरू छन् । त्यसैले समस्या देखापरेपछि हारगुहार गर्नेभन्दा पहिले नै सम्भावित जोखिमको आकलन गरेर योजना तयार गर्नु बुद्धिमानी हुन्छ ।
सरकारले पश्चिम एशियामा रहेका नेपालीहरूको वास्तविक अवस्था बुझ्न दूतावासमार्फत नियमित सूचना संकलन गर्ने, जोखिम क्षेत्रहरु पहिचान गर्ने, त्यहाँ आफ्ना नागरिकको अवस्थाबारे थाह पाउने र आवश्यक पर्दा तुरुन्त उद्धार गर्ने गरि संयन्त्र विकास गर्न आवश्यक छ । जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्ने, आवश्यक परे अस्थायी आवासको व्यवस्था गर्ने र आकस्मिक उद्धारका लागि स्पष्ट कार्ययोजना तयार पार्ने जस्ता कदम पनि जरुरी देखिन्छ ।
विदेशमा रहेका नागरिकको सुरक्षा सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो । त्यसैले पश्चिम एशियामा देखिएको तनावलाई हल्का रूपमा नलिई सम्भावित संकटलाई मध्यनजर गर्दै सरकारले समयमै तयारी गर्न जरुरी छ । अहिले देखिएको तनाव पनि सम्भावित जोखिमको संकेत हुन सक्छ । त्यसैले आफ्ना नागरिकको सुरक्षाका लागि सरकार गम्भीर, सतर्क र सक्रिय बन्ने तर्फ ध्यान केन्द्रित गर्न आवश्यक छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो