दमक÷ राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बहुप्रतिक्षित हुलाकी राजमार्गको विभिन्न खण्ड अझै निर्माणाधिन छ । तर निर्माण भईसकेको स्थानमा भने भत्कन पनि शुरु भई सकेको छ ।
भद्रपुरस्थित झापाचोकबाट जलथल हुँदै राजगढ जोड्ने हुलाकी राजमार्गअन्तर्गतको सडक निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै विभिन्न स्थानमा भत्किन थालेको छ । पूरा नहुँदै सडक भत्किन थाले पछि यात्रु तथा स्थानीयले हैरानी खेप्नुपरेको छ । सडकका ठाउँठाउँमा ठुला खाल्डाखुल्डी पर्नुका साथै पुल र कल्भर्ट निर्माण अधुरै रहेकाले दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयवासीको गुनासो छ ।
हल्दीबारी गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ क्षेत्रमा पर्ने भुतेनी खोला र भुसुडी खोलामा निर्माण अपूरो अवस्थामा रहेकाले सवारी आवागमनमा समस्या भइरहेको छ । स्थानीयवासीका अनुसार सडकमा भएका खाल्डाखुल्डीका कारण साना तथा ठूला सवारीसाधन दुर्घटनामा पर्ने क्रम बढ्दो छ । वर्षायाम सुरु हुन लागेकाले सडकको अवस्था अझ जोखिमपूर्ण बन्न सक्नेमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले सडकको दयनीय अवस्थाबारे गाउँपालिकाले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि हालसम्म सुधारको काम अघि नबढेको बताए । पालिकाले पटकपटक ताकेता गरे पनि सम्बन्धित आयोजनाबाट अपेक्षित प्रतिक्रिया नआएको उनको भनाई छ । यस्तै हल्दीबारी(४ का वडाध्यक्ष सन्तकुमार थापाले निर्माण सम्पन्न भएको छोटो समयमै सडक भत्किन थालेपछि निर्माणको गुणस्तरीयतामाथि प्रश्न उठेको बताएका छन् । उनले सडकमा दैनिकजसो दुर्घटनाको जोखिम बढिरहेको उल्लेख गर्दै समयमा मर्मत तथा सुधार नगरे थप क्षति हुनसक्नेतर्फ सरोकार भएका निकायको ध्यानाकर्षण गराए ।
हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत आयोजना कार्यालय इटहरीले भने सो सडक खण्ड अझै पूरा भएर हस्तान्तरण भई नसकेको जनाएको छ । कार्यालयका इन्जिनियर उपेन्द्र दासले झापा चोक देखि राजगढपारिसम्मको १९ दशमलव ५० किलोमिटर सडकखण्ड निर्माण व्यवसायीले हालसम्म औपचारिक रूपमा हस्तान्तरण नगरेको जानकारी दिएका छन् । निर्माण कम्पनी अहिले ‘त्रुटि सच्याउने अवधि’मा रहेकाले भत्किएका तथा बिग्रिएका संरचनाको मर्मत पनि सोही कम्पनीले गर्ने उनको भनाई छ ।
बिस्कुनले बढाउँदै दुर्घटनाको जोखिम
हुलाकी राजमार्ग निर्माण भएसँगै झापा र मोरङका विभिन्न क्षेत्रमा सडक अहिले अन्नको विस्कुन सुकाउने थलो बन्दै गएको छ । सिजन अनुसार धान, मकै, गहुँलगायत गुईठा र दाउरा समेत सडकमा फैलाएर सुकाउने प्रवृत्ति बढेपछि सवारी आवागमनमा जोखिम थपिएको छ ।
सडकमा मकै सुकाईएकै कारण गत वर्ष रंगेलीमा गाडीको ठक्करबाट एक बालिकाको ज्यान गएको थियो । बालिकाले बाटो काट्ने क्रममा अचानक बे्रक लगाउँदा मकैका कारण गाडीले नियन्त्रण गुमाउँदा सो दुर्घटना भए पछि नगरपालिकाले सडकमा विस्कुन सुकाउन निषेध गरेको थियो । तर स्थानीयले सडकमा विस्कुन सुकाउन पाउनु पर्छ भन्दै आन्दोलन गरे पछि नगरपालिकाको नियम पनि लागु हुन सकेन ।
विशेषगरी निर्माण सम्पन्न भइसकेका कालोपत्रे सडकखण्डमा स्थानीयले खुला स्थानको अभाव जनाउँदै सडक नै प्रयोग गर्न गरेका छन् । यसका कारण मोटरसाइकल तथा अन्य सवारी साधन चिप्लिने, अनियन्त्रित हुने र दुर्घटनामा पर्ने घटना बढ्दै गएका छन् । अन्न सुकाइएको स्थानमा चालकले अचानक ब्रेक लगाउनुपर्दा वा सामान्य गतिमै गुड्दा पनि सवारी नियन्त्रण गर्न कठिन हुने गरेको छ । स्थानीय प्रशासन र ट्राफिक प्रहरीले सडकलाई सार्वजनिक आवागमनको सुरक्षित क्षेत्रका रूपमा प्रयोग गर्न आग्रह गर्दै सडकमा अन्न सुकाउने कार्य रोक्न चेतावनी दिए पनि यो क्रम रोकिएको छैन ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो