फामिने संवाददाता
पथरी (मोरङ) । मोरङको पथरीशनिश्चरे –१ का युगलकिशोर अधिकारी १६ वर्षकै उमेरमा व्यासाचार्य बनेका छन् । उनले यही माघ २९ गतेदेखि स्वगृहमा आयोजना भएको श्रीमद्भागवत महापुराणको पाठपारायणसँगै सुमधुर स्वरमा कथा वाचन गरेर ‘बाल व्यासाचार्य’को उपाधिमा आफूलाई स्थापित गरेका हुन् ।
पिता आचार्य पण्डित केवलकृष्ण अधिकारी र माता लक्ष्मीदेवी खनाल अधिकारीको ज्येष्ठ सुपुत्रका रूपमा २०६३ वैशाख २९ गते जन्मेका युगलकिशोरले औपचारिक विद्यालयीय शिक्षासमेत आर्जन गरिरहेका छन् । स्थानीय पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययन गरिरहेका उनले आफ्नै बुबा पं. केवलकृष्णबाट प्रेरित भएर श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको मूलपाठ पारायण र कथावाचन गर्ने जमर्को गरेका हुन् । पिता केवलकृष्णसँगै धरानका पण्डित दीपक पराजुलीले समेत उनको भागवत अध्ययनमा सहजीकरण गरे ।
युगलकिशोर १ घन्टामै भागवतका १० भन्दा बढी अध्यायको शुद्धसँग पाठपारायण गर्न सक्षम बनेको बुबा केवलकृष्णले बताए । युगलकिशोरले एकैपटक व्यासासन मा बसेर भागवत पुराण वाचन गर्ने ल्याकत राखेका होइनन् । यसअघि नै उनले कर्मकाण्ड, व्याकरण र ज्योतिषसम्बन्धी ज्ञान पनि आर्जन गरिसकेका छन् । २०६९ सालदेखि सात वर्षसम्म विश्वनाथ संस्कृत गुरुकुल (पथरीशनिश्चरे २, देवीगन्ज) मा मूलत: कर्मकाण्ड र व्याकरण पढेका अधिकारीले सोही समयमा रुद्री, दुर्गा सप्तशती (चण्डी), गीता, वेद र लघुसिद्धान्त कौमुदीजस्ता धार्मिक ग्रन्थको गहिरो ज्ञान आर्जन गरेका थिए । युगलकिशोरले सामान्य चिनाटिपन बनाउने मात्र होइन, फलादेश समेत हेर्ने गरेका छन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो