फाष्ट मिडिया नेपाल संवाददाता
इनरुवा । जो चोर उसैको ठूलो स्वर भन्ने उखानलाई सुनसरीको सदरमुकामन इनरुवामा सञ्चालित निजी स्वास्थ्य संस्थाहरुले चरितार्थ गरेका छन् । पटक पटक इनरुवाका निजी स्वास्थ्य संस्थाबाट जनस्वास्थ्य खेलवार्ड गरेर विभिन्न व्यक्तिको ज्यान समेत गईसकको सन्दर्भमा गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायलाई सोमबार अनुगमन गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीको नेतृत्वमा इनरुवाको हस्पिटल रोडमा रहेको फार्मेसी, पोलिक्लिनिक, मेडिकल हलहरुको अनुगमन गरेको थियो । इनरुवा नगरपालिकाको महत्वपूर्ण जिम्मेवारीमा पर्ने अनुगमनमा पालिकाले वेवास्ता गरेपछि केन्द्रीय निर्देशनमा जिल्ला प्रशासन कार्यालय इनरुवाले जिल्ला अस्पताल इनरुवा र सुरक्षा निकायको सहयोगमा उक्त अनुगमन गरेको थियो । अनुगमनका क्रममा अवैध र गैरजिम्मेवारी ढंगका स्वास्थ्य संस्थाहरु प्रशस्त भेटिएका थिए तर त्यो अनुगमनलाई नगरपालिकाको आडमा उपमेयर विनिता मेहताको पति योगेन्द्र मेहताको नेतृत्वको टोलीले अवरोध समेत पु¥याएको थियो । अनुगमन टोलीसँग विवाद मात्र गरेनन अवरोध गर्ने टोलीले दुव्र्यवहार समेत गरेको मेसु डा. देवराज घिमिरेले बताएका छन् । मेडिकल सञ्चालकहरूले अनुगमन टोलीलाई सटर झारेर अवरोध गरेको टोली प्रमुख जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाले वताए।
अनुगमनको क्रममा पोलिक्लिनिक, मेडिकल हल र फार्मेसीहरूले विरामी ठगी मात्र नगरेर स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको पाइएको अनुगमन टोलीमा रहेका जिल्ला अस्पताल इनरुवाका प्रमुख घिमिरेले बताए । ‘इनरुवाको हस्पिटल रोडमा रहेको एक दर्जन पोलिक्लिनिक र फार्मेसीहरू अनुगमन गरिएको थियो । त्यसक्रममा व्यापक रुपमा बेथिति रहेको भेटियो,’ उनले भने, ‘फार्मेसीको स्वीकृति लिने पोलिक्लिनिक सञ्चालन गरेको भेटिएको छ । पोलिक्लिनिक भनेर बोर्डमा विशेषज्ञ चिकित्सक राखिएको छ । तर, उपचार सिएमए र अहेबले गरेको पाइएको छ ।’ यसरी खुलेआम फार्मेसी र पोलिक्लिनिकले ठगी मात्र नगरेर उपचारको लागि आएका विरामीको स्वास्थ्य माथि पनि खेलवाड गरेको पाइएको छ ।
हस्पिटल लाइनमा रहेको इनरुवा नगरपालिकाका उपमेयर विनीता मेहताका श्रीमान योगेन्द्र मेहताले संचालन गरेको नेशनल मेडिकलले सिएमए राखेर उपचार गर्ने गरेको पाइएको छ । विशेषज्ञ चिकित्सकको बोर्ड झुन्ड्याएरको मेडिकलमा सिएमए तारणी यादवले उपचार गर्ने गरेको पाइएको छ । यादव सप्तरीको रुपनी स्वास्थ्य चौकीमा कार्यरत सिएमए हुन् । पोलिक्लिनिकमा विशेषज्ञ चिकित्सक बाहेक अरुले स्वास्थ्य जाँच गर्न नपाउने स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाइँले बताए ।
‘फार्मेसीले औषधि व्यवस्था विभागबाट स्वीकृति लिनुपर्ने हुन्छ भने पोलिक्लिनिकले स्वास्थ्य कार्यालयबाट लिनुपर्छ,’ उनले भने, ‘पोलिक्लिनिकमा विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच मात्र गर्ने हो । थप उपचार गर्नुपर्ने अवस्था आए सम्बन्धन प्राप्त गरेको अस्पतालमा रेफर गरेर उपचार गर्नुपर्ने हुन्छ ।’ तर, च्याउसरी खुलेका इनरुवाका पोलिक्लिनिक र फार्मेसीले विशेषज्ञ चिकित्सकको बोर्ड झुन्ड्याएर सिएमए, अहेब र फर्मासिस्टले उपचार गरेर विरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने गरेको अनुगमनको क्रममा भेटिएको हो ।
‘१३ वटा फार्मेसी, पोलिक्लिनिक र मेडिकल हलहरु अनुगमन गरियो,’ उनले भने, ‘धेरैलाई मापदण्ड पूरा गरी प्रक्रियामा ल्याएर संचालन गर्न हामीले निर्देशन दिएका छौं ।’ मापदण्ड र नीति नियम बेगर संचालन गरेको पोलिक्लिनिक र मेडिकल हलले अटेरी गरे कारवाहीको दायरामा ल्याउने उनले बताए ।
यसैबीच इनरुवामा रहेका मेडिकलहरूको अनुगमन गर्न पुगेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको टोलीलाई मेडिकल व्यवसायीहरूले दुई घण्टा थुनेका छन् । स्वास्थ्य क्षेत्रमा चरम बेथीति देखा परेपछि अनुगमनमा पुगेको टोलीलाई सोमबार व्यवसायीहरुले दुइ घण्टा थुनेका हुन् ।
अनुगमनका क्रममा कागजपत्र चेकजाँच गर्ने क्रममा मेडिकल व्यवसायीले अनुगमन गर्न गएको टोलीलाई मेडिकल हलभित्रै थुनेका छन् । मेडिकल सञ्चालकहरूले अनुगमन गर्न पुगेको टोलीलाई विराट डाइग्नोस्टिक मेडिकल हलको सटर झारेर थुनेको हो ।
अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत केशव खतिवडा, जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईं, जिल्ला अस्पताल इनरुवाका मेसु देवराज घिमिरेलगायत रहेका थिए ।
अनुगमनको क्रममा नुरुव फार्मेसी, शशी मेडिकल, सायमा फार्मेसी, कोशी डिजिटल एक्सरे, इमेज मेडिकल हल, दिपशिखा फार्मेसी, अल्का फार्मेसी, ठाकुर फार्मेसीको अनुगमन गरेको थियो । यस्तै नुतन ल्याब, जनसेवा फार्मेसी, हिमाल आइ केयर सेन्टर, रिमा मेडिकल हल र नेसन मेडिकल हलको अनुगमन गरेको थियो । यता व्यवसायी मेहताले भने अनावश्यक रुपमा अनुगमन टोलीले प्रश्न गरेको र पूर्वाग्राही भएर प्रस्तुत भएकाले व्यवसायीहरुले विरोध गरेको बताए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो