वडाबासीबाटै वडाअध्यक्षका नाबालक छोरा अपहरण, प्रहरीको सक्रियताले तुरुन्तै बालकलाई अपरणमुक्त गराउन मोरङ प्रहरी सफल

फाष्ट मिडिया नेपाल संवाददाता

विराटनगर । मोरङको जहदा गाउँपालिका वडा नं. १ का वडाअध्यक्षका नाबालक छोराको अपहरणमा सोही वडाबासी संलग्न रहेको खुल्न आएको छ । 

मंगलबार दिउँसो ३ बजेतिर जहदा १ का वडाअध्यक्ष बाबुराम राजवंशीका १० वर्षीया छोरा धनीधर राजवंशी अपहरणमा परेको सूचनाका आधारमा प्रहरीले सोही वडाका २ जना र विराटनगरका १ जनालाई पक्राउ गरेपछि उक्त कुरा खुल्न आएको हो । हपहरित बालकलाई विराटनगर १५ बाट उद्धार गरेर प्रहरीले अपहरणमा संलग्न तीन जनालाई पक्राउ गरेको हो ।

स्कुलमा तिम्रो फोटो खिचाउनुपर्ने भन्दै ३ युवाहरुले उनलाई साइकलमा राखेर लगेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

जहदा १ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर १८ का २१ वर्षीय विवेकानन्द यादवले बालकलाई विराटनगर १८ स्थित खाकीबाबा मन्दिर नजिक पु¥याए पछि स्थानीयले सुइको पाएर प्रहरीलाई खबर गरेपछि बालक अपहरण मुक्त हुन सफल भएका थिए । 

प्रहरी प्रवक्ता दाहालका अनुसार बालकलाई मोटरसाइकलमा बसाएपछि मिलन चोक, झोलुंगे पुल हुँदै विराटनगर १८ र विराटनगर १४ को बाटोबाट विराटनगर १५ मा लगिएको खुलेको छ । बालक अपहरणमा परेको जानकारी पाउनसाथ मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका थिए । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्दीप बेलबासे र इलाका प्रहरी कार्यालय बुधनगरका प्रहरी नायव निरीक्षक विजय बस्नेतको नेतृत्वमा खटिएको संयुक्त टोलीले विराटनगर १८ बाट बालकको उद्धार गरेको हो ।

प्रहरी आएको थाहा पाएपछि अपहरणमा संलग्नहरु फरार भएका थिए । तर, प्रहरीले उनीहरुलाई पक्राउ गरिसकेको छ । सुरुमा अभिषेकलाई पक्राउ गरेको प्रहरीले त्यसपछि बुधनगरबाटै थप दुईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तीनै जनाको मिलेमतोमा बालकको अपहरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले बताए । पक्राउ परेका तीनै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

बालकलाई अपहरण गर्नुको कारण खुलिनसकेको प्रहरीले जनाएको छ । बालकलाई भारत पुर्‍याउने योजनासहित अपहरण गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । बालकका बुबा बाबुराम राजवंशीले अभिभावकलाई थाहा नदिइकन खेलिरहेको ठाउँबाट मञ्जुरीबिना नै छोरालाई अपहरण गरिएको भन्दै दोषीमाथि कारबाहीको माग राखेर प्रहरीमा जाहेरी दिएका छन् ।

पक्राउ परेकाहरूले भने विराटनगरसम्म ल्याइदिएवापत १–१ हजार दिने भनेपछि आफूहरूले बालकलाई लिएर आएको प्रहरीलाई बयान दिएका छन् । बालकलाई विराटनगरसम्म ल्याउन लगाउने मान्छेका बारेमा उनीहरूले खुलाएका छैनन् । घटनाको प्रकृति हेर्दा बाबुसँग फिरौती रकम असुल्नकै लागि बालकको अपहरण भएको अनुमान गरिएको डीएसपी दाहालले बताएका छन् ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया