श्रीलंकाका विदेशमन्त्री उवेस मोहम्मद अली साब्री नेपाल आज आउँदै

खगेन्द्र कार्की

श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने नेपाल भ्रमणका लागि बुधबार (पुष ४) काठमाडौं आउने भएका छन्।

उनी नेपाल(श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल(श्रीलंका संयुक्त आयोगको बैठक पुस ५ र ६ गते काठमाडौंमा हुँदैछ। बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गर्ने छन्।

बैठकमा नेपाल–श्रीलंका सम्बन्धका सबै आयामहरूमा छलफल र समीक्षा गरिने बताइएको छ।

नेपाल भ्रमणका बेला श्रीलंकाका विदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदसँग छुट्टै भेटवार्ता गर्ने मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भ्रमणका क्रममा श्रीलंका विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने छन् । उनी पुस ७ गते स्वदेश फर्कने छन्।


खगेन्द्र कार्की
प्रतिक्रिया