अधिवक्ता खिमलाल देवकोटाको रास्वपाका सभापति लामिछाने उम्मेदवार बन्न अयोग्य रहेको दाबीलगायतका खबरहरु

खगेन्द्र कार्की

आगामी वैशाख १० गते आइतवार हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि सोमवार उम्मेदवारको मनोनयनपत्र दर्ता गरिँदैछ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका क्रममा २५ जनाभन्दा बढी सहभागी नहुने लगायत १० बुँदे निर्देशन जारी गरेको छ ।

चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रमा चैत १८ गते सञ्चालनमा आएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता अवैध भएको ठहर भएसँगै उनले सांसद पद गुमाउँदा चितवन २ मा उपनिर्वाचन हुन लागेका हो । सोही क्षेत्रमा सोमबार रविले आफ्नो उम्मेदवारी दर्ता गराउँदै छन् । सर्वोच्चको फैसलासँगै उनले जिल्ला प्रशासन कार्यालयबाट उनले आफ्नो पुरानो नागरिकता कायम गराएका थिए । 

तर, उनको नागरिकताबारे फेरि बहस सुरु भएको छ । संविधानको धारा २९१ लाई देखाउँदै उनको उम्मेदवारीबारे बहस सुरु भएको हो । 
संविधानसभा सदस्य समेत रहेका अधिवक्ता खिमलाल देवकोटाले राष्ट्रिय लामिछाने उम्मेदवार बन्न अयोग्य रहेको दाबी गरे । 

संविधानको धारा २९१ मा गैर आवासीय नेपाली नागरिकता अथवा कुनै देशको विदेशी नागरिकता परित्याग गरेको व्यक्तिले नियुक्ति, मनोनयन र निर्वाचन ३ वटा कामका निमित्त कम्तीमा तीन महिना व्यतीत नभई योग्य नहुने व्यवस्था गरेकाले रवि उम्मेदवार बन्न नसक्ने उनले बताए । 

म्रो संविधानले धेरै प्रकारको नागरिकताको व्यवस्था र्गयो । वंशजको नागरिकता, जन्मसिद्ध नागरिकता, गैरआवासीय नेपाली नागरिकता, अंगीकृत नागरिकता, सम्मानार्थ यस्ता विभिन्न प्रकारका नागरिकताको व्यवस्था गरिएको छ । तीमध्ये गैरआवासीय नेपाली नागरिकका निम्ति राजनैतिक अधिकारबाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्त गर्न नागरिकताको प्रमाणपत्र प्राप्त गर्नसक्ने भन्ने बन्दोबस्त गरियो, यसैसँग सम्बन्धित गरेर संविधानको धारा २९१ मा नियुक्तिका लागि योग्य नहुने भन्ने शीर्षक अन्तर्गत गैर आवासीय नेपाली नागरिकता अथवा कुनै देशको विदेशी नागरिकता परित्याग गरेको व्यक्तिले नियुक्ति, मनोनयन र निर्वाचन ३ वटा कामका निमित्त कम्तीमा तीन महिना व्यतीत नभई योग्य हुँदैन’, देवकोटाले भने, ‘गैरआवासीय नेपाली नागरिकलाई राजनीतिक अधिकार त हुँदैन नै, तर त्यो आवासीय नागरिकता त्यागेको तीन महिना कुलिङ पिरियडका रुपमा संविधानले राखेको छ । यसको परिपालनाको अपेक्षा संविधानले गर्छ,’ उनको भनाइ छ ।


यसैबीच लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरी पाऊँ भन्दै सर्वोच्च अदालतमा निवेदन पेश भएको छ । राहादानी दुरुपयोग मुद्दामा लामिछानेमाथि मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय खारेजी गर्दै उनीमाथि मुद्दा चलाउनुपर्ने मागसहित अधिवक्ता युवराज सफलले निवेदन दिएका हुन्।
अहिले निवेदन दर्ता नगरी सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको छ ।
००००००
यसैगरी उपनिर्वाचनको मनोनयन दर्ताका क्रममा सहभागी हुन नेपाली कांग्रेसका दुई महामन्त्री फिल्डमा पुगेका छन् ।  महामन्त्री गगन थापा तनहु–१ मा हुने उम्मेदवार मनोनयनमा सहभागी हुन पुगेका छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्मा चितवन–२ मा पुगेका छन् ।  कांग्रेसले तनहुँ–१ मा गोबिन्दराज भट्टराईलाई उम्मेदवार बनाएको छ भने चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
००००
कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरेर बारा, चितवन र तनहुँमा २०७९ सालअघि पार्टीविरुद्ध बागी उम्मेदवारी दिएका नेतारकार्यकर्ताको कारवाही फुकुवा गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको कार्य सम्पादन समितिको बैठकले तीन जिल्लाका कार्यकर्ताको कारवाही फुकुवा गर्ने निर्णय गरेको हो ।
००००
यसैबीच उपनिर्वाचन हुन लागेका देशैभरका निर्वाचन क्षेत्रका बागी उम्मेदवारहरूलाई गरिएको कारबाही फुकुवाप्रति  नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। 
तनहुँमा आयोजित नेपाली कांग्रेस स्वतन्त्र अभियान नामक एक कार्यक्रममा जोशीले सम्बन्धित मानिससँग सल्लाह नै नगरी एकलौटी रूपमा गरिएको निर्णयलाई हरहालतमा आफू मान्न तयार नरहेको जनाएका छन्।
००००
प्रतिनिधि सभा उपनिर्वाचनमा लागि राप्रपाले ३ क्षेत्रमा उम्मेदवार तय गरेको छ । राप्रपाले तनहुँ १ मा शोभा गुरुङ, चितवन २ मा जीवलाल पुरी र बारा २ मा शोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो  ।
००००
कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले अर्थमन्त्री नियुक्त भएसँगै अर्थतन्त्रका संयन्त्र बुझ्न थालेका छन् । शुक्रवार साँझ अर्थमन्त्रालय प्रवेश गरेका महतले आइतबारदेखि औपचारिक रूपमा मन्त्रालयको नियमित काम गर्न थालेका हुन् । उनले पहिलो दिन मन्त्रालय अन्तर्गका ५ वटा महाशाखाबाट प्रस्तुतीकरण लिएका छन ।

अर्थ मन्त्रालयका सूचना अधिकारी वसन्तराज तिवारीका अनुसार मन्त्री महतले आइतबार मन्त्रालय अन्तर्गत विभिन्न महाशाखा प्रमुखसँग बसेर प्रस्तुतीकरण लिएका छन् । मन्त्रालय र मातहतका  महाशाखाबाट हुने कामकारवाही, कामको अवस्था, प्रगति, चुनौती, समस्या र समाधानका उपयुक्त विकल्पसहितको प्रस्तुतीकरण मन्त्री महतले लिएका छन् ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इमानमा अड्न नसकेको आरोप लगाएका छन्। ओलीले प्रधानमन्त्री दाहाल इमान नभएको भन्दै त्यस्ता स्वार्थीहरूको गठजोडमा आफूहरू नलाग्ने बताए। 
आइतबार काठमाडौंमा आयोजित पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले वामपन्थी एकताको पक्षमा पनि आफू नलाग्ने बताए।
००००
सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने बुटवल–पाल्पा सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ ।
सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक काम शुरू भएपछि  डाइभर्सनको काम भइरहेकाकाले चैत २१ गते मंगलबारदेखि दैनिक ९ घण्टा सडक बन्द हुने भएको हो ।
००००
काठमाडौं प्रहरी परिसरले कलंकीमा एक गोदाममा छापा हानेको छ । एसियन फुड नामको कम्पनीको गोदाममा छापा मार्दा २ वटा ट्रकमा २२४० बोरा कुहिएको केराउ र ३ वटा तल्ला भरी नै कुहिएको केराउ बरामद गरेको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । 
००००
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितसँग भएको सहमति कार्यान्वयन गर्ने र पीडितलाई हरहालतमा न्याय दिइने बताएका छन् ।
आइतवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मन्त्रिपरिषद्बाट कानून संशोधन प्रक्रिया शुरु गरिसकेको बताएका हुन् ।
००००
पूर्वाञ्चल विश्विविद्यालयको ११औँ  दीक्षान्त समारोहमा ६ हजार ५सय १३ विधार्थी दीक्षित भएका छन् ।
कला संकायको स्नातकमा ९२, स्नाकोतरमा ४३, कानून संकायमा स्नातक १९९ र स्नाकोतरमा १०७, शिक्षाशास्त्र संकायमा स्नातक ३५४, स्नाकोतर १४८, व्यवस्थापन संकायमा स्नातक तहमा १ हजार २ सय ४२ र स्नातकोत्तरमा ६१४ विधार्थी दीक्षित भएका छन् ।

चिकित्साशास्त्रमा स्नातकमा २ हजार ३१४ विधार्थी दीक्षित भएका छन् ।यस्तै विज्ञान तथा प्रविधि संकायको स्नातक तहमा १ हजार २६१ र स्नातकोत्तरमा १२३ विद्यार्थी दीक्षित भएका छन् ।
००००
उपचारका लागि भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यवस्था सुधारोन्मुख देखिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले जनाएको छ। 
शनिबार पेट दुख्नेलगायत समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। उनको उपचार भइरहेको छ।
००००
जसपाकी नवनिर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।​संसद् सचिवालय सिंहदरबारमा आइतवार बिहान सभामुख देवराज घिमिरेले अन्सारीलाई शपथ गराएका हुन् ।

खगेन्द्र कार्की
प्रतिक्रिया