विराटनगरमा पहिचानवादीहरुको आन्दोलन र सुरक्षाकर्मीबीचको झडपमा परी २ दर्जन बढी घाइते

खगेन्द्र कार्की
फाष्ट मिडिया नेपाल न्युज डेक्स
इटहरी । यूएनडीपीको आयोजनामा विराटनगरको एक होटलमा आयोजना हुने कार्यक्रममा सहभागी सांसदहरुलाई पहिचानवादीहरुको आँदोलनका विषयमा ध्यानाकर्षण गराउने गरी जम्मा भएको भिड अन्ततः हिंसात्मक बन्यो । कार्यक्रम आयोजना हुने होटल र सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइए पछि खान्दोलनकारी र  खटिएका सुरक्षाकर्मीबीच झडप हुँदा २ दर्जन बढी घाइते भएका छन् । 
प्रदेशसभा सदस्यहरूका लागि दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापन सम्बन्धी एक दिने कार्यक्रमको आयोजना विराटनगरको बिग होटलमा गरिँदै थियो । 
दिउँसो २ बजेदेखि होटलमा कार्यक्रम आयोजना गरिएको थियो । तर आन्दोलन हुनुभन्दा अगाडि नै पहिचान पक्षधरहरूले होटल अगाडि नाराबाजी गर्न थालिहाले । नाराबाजीले आन्दोलनको उग्र रूप लियो । 
ुकोशी नाम खारेजी गरी पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने माग राख्दै पहिचान पक्षधरहरूले निरन्तर आन्दोलन गर्दै आएका छन् ।
पक्षधरको निरन्तर आन्दोलनका कारण विराटनगर तनावग्रस्त बनेको धेरै दिन भइसक्यो। 
विराटनगरको होटल बिग भएको कार्यक्रममा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा कम्तीमा २५ जना घाइते भएका छन्। आन्दोलनकारीले प्रहरीको घेरा तोडेर बढेपछि झडपको स्थति निम्तिएको थियो। 
झडपमा सशस्त्र र नेपाल प्रहरीका गरी १२ जना घाइते भएका मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए ।
यता आन्दोलनकारीका तर्फबाट १२ जना बढी घाइते भएका पहिचानवादी नेता अर्जुन जम्मेली राईले बताए ।
९ जनालाई विराटनगरका अस्पतालहरूमा उपचार गराइएको छ ।  जम्मेलीका अनुसार आन्दोलनकारीतर्फ घाइते हुनेहरूमा अशोक राई, सरोज लिम्बू, ज्ञानबहादुर राई, शिव आङ्दाम्बे, उदय लिम्बू, सुरज राई, एनके दर्नाल, विशाल राई र पदमलाल लिम्बू छन्। 
आक्रोशित आन्दोलनकारी घेरा तोडेर बढेका र प्रहरीलाई ढुंगामुढा बर्साएपछि स्थिति  नियन्त्रणमा लिन २९ राउन्ड हवाई फायर गरिएको थियो भने ४४ सेल अश्रुग्यास प्रहार भएको थियो।

जसमध्ये १७ राउन्ड नेपाल प्रहरीले र १३ राउन्ड हवाई फायर सशस्त्र प्रहरीले खोलेका एसपी पोखरेलले बताए । १३ सेल अश्रुग्यास नेपाल प्रहरी र ३१ सेल सशस्त्र प्रहरीले प्रहार गरेको थियो। प्रहरीले आन्दोलनकारीलाई तिरबितर बनाउन पानीको फोहोरासमेत प्रयोग गरेको थियो। ​
यूएनडीपीको आयोजनामा प्रदेश सांसद सहभागी भएको उक्त कार्यक्रम मंगलबार र बुधबारका लागि तय भएको थियो। यस कार्यक्रम यसअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकको होटलमा तय गरिएको थियो। तर त्यहाँ प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त सङ्घर्ष समितिले घेर्न आउने भएपछि असुरक्षाका कारण विराटनगरको होटल बिगमा राखिएको हो।
तर यहाँ पनि सांदहरूलाई दबाब दिन आन्दोलनकारी घेराउ गर्न पुगेका थिए। 
संघर्ष समितिले ुकोशीु नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहु पहिचानको आधारमा पुनः नामांकनको माग सम्बोधन गर्नुपर्ने लगातार माग गरिरहेका छन्। सांसदहरू सहभागी हुने कार्यक्रम र होटल घेराउ गर्न समितिका कार्यकर्ताहरू जम्मा हुने भएपछि प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको थियो । 
आन्दोलनकारीले बिग होटलको क्याफे पनि तोडफोड गरिदिएका छन् । आन्दोलनकारीको ढुंगामुडाबाट क्याफेका सिसा र सोफाहरू तोडफोड भएका छन्। 
होटलमा  भएको कार्यक्रममा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर र प्रहरीबीच दोहोरो झडप भएको हो। 



खगेन्द्र कार्की
प्रतिक्रिया